सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै प्रहरी
काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीमा तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि ट्राफिक प्रहरीले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको बताए । ‘सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,’ उनले भने । प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक पाँचसय रुपैयाँ, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय रुपैयाँ जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
यस आवमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिईसकेको प्रहरीले जनाएको छ । प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको दासले बताए ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया