सडकमा लेन अनुशासनलाई थप कडाइ गर्दै प्रहरी
काठमाडौं । राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीमा तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि ट्राफिक प्रहरीले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको बताए । ‘सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,’ उनले भने । प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक पाँचसय रुपैयाँ, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय रुपैयाँ जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
यस आवमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिईसकेको प्रहरीले जनाएको छ । प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको दासले बताए ।
लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया