NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पत्रकारितामा डिजिटल थ्रेट बढ्दो

काठमाडौं । पछिल्लो समय पत्रकारिता डिजिटल माध्यमको रुपमा विकास भएसँगै पत्रकारमाथि हुने डिजिटल थ्रेट पनि बढ्दै गएको छ । फ्रिडम फोरमले देशको सातै प्रदेशका १०० पत्रकारमाथि गरेको अध्ययनबाट पत्रकारले पत्रकारितामार्फत हुने डिजिटल थ्रेट भोग्नुपरेको विषय सार्वजनिक गरेको हो ।

आज फ्रिडम फोरमले काठमाडौँको बबरमहलमा आयोजना गरेको नेपाली पत्रकारितामा डिजिटल असुरक्षाको चुनौतीसम्बन्धी छलफलमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा प्रविधिको विकाससँगै पत्रकारले पनि यस क्षेत्रमा भोग्नुपरेको समस्या र अवस्थाको बारेमा जानकारी गराएको थियो ।

प्रविधिको विकाससँगै डिजिटल क्षेत्रमा पत्रकारले भोग्नुपरेका विभिन्न समस्याको बारेमा फ्रिडम फोरमले ३४ महिला पत्रकार र ६६ परुष पत्रकारमाथि अध्ययन गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी अनलाइन मिडियामा काम गर्ने पत्रकारले बढी डिजिटल थ्रेट भोग्नुपरेको उल्लेख गरेको छ । ६० प्रतिशत अनलाइनमा काम गर्ने, साप्ताहिक पत्रिकामा काम गर्ने २२ प्रतिशत, व्यापारिक रेडियोमा काम गन १९ प्रतिशत, सामुदायिक रेडियोमा काम गर्ने ८ प्रतिशत पत्रकारले डिजिटल थ्रेट भोग्नु परेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी रिर्पोटिङमा खटिने पत्रकारले डिजिटल थ्रेटको सामान गर्नुपरेको छ । ५६ प्रतिशत समाचार सङ्कलनमा खटिने पत्रकार, ३४ प्रतिशत सम्पादक, दुई प्रतिशत कार्यक्रम प्रश्तोताले पनि उक्त समस्याको सामना गर्नुपरेको छ । नेपाली भाषाबाट प्रकाशित हुने समाचार संस्थामा काम गर्ने ९३ प्रतिशत पत्रकारले र अङ्ग्रेजी भाषामा काम गर्ने तीन प्रतिशत पत्रकारले डिजिटल थ्रेटको समस्या खेप्दै आएका छन् ।

जसमा पत्रकारले लैङ्गिक हिंसा, भौतिक आक्रमण, ह्याकिङदेखि भाइरस आक्रमणसम्मको समस्या खेप्नुपरेको प्रतिवेदनले औंल्याएको छ । फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिलगायत आफ्नो धारण राखेका थिए ।