NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

यस्तो थियो ‘राजनेता’झै कारागारबाटै टेलिफोन सम्बोधन गर्ने आलमको योजना

काठमाडौं । जिउँदै मान्छे इँटाभट्टामा हालेर क्रूर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमले गत स्थानीय निर्वाचनमा ‘राजनेताको शैली’मा टेलिफोनबाट गृहजिल्ला रौतहटका मतदातालाई सम्बोधन गर्न खोजेका थिए । गृह मन्त्रालयमार्फत त्यसको चाँजोपाँजो पनि मिलाइसकेका थिए । तर, कारागार व्यवस्था विभागले गृहको प्रस्ताव अस्वीकार गरेपछि आलमको योजना असफल भयो ।

आलम अहिले काठमाडौंस्थित नक्खु कारागारमा छन् । कारागारभित्रका कैदीबन्दीलाई आफ्ना वकिल र परिवारका सदस्यसँग टेलिफोनमार्फत कुराकानी गर्न सक्ने सुविधा छ । त्यही सुविधाको ‘दुरुपयोग’ गरेर आलम गत ३० वैशाखमा भएको स्थानीय चुनावमा रौतहटको राजापुर नगरपालिकाका मतदातालाई सम्बोधन गरी मत प्रभावित गर्न चाहन्थे । किनकि, त्यहाँको मेयरमा उनका छोरा डा. मोहम्मद राजिक उम्मेदवार थिए । यद्यपि, उनका छोरा डा. राजिक भारी मतसहित विजयी भएका छन् ।

विभागका प्रवक्ता झंकरनाथ ढकालले मतदाता प्रभावित हुन सक्ने देखिएपछि केही कैदीबन्दीको टेलिफोन चुनाव अवधिभर रोकिएको बताए । ‘हामीकहाँ राजनीतिक दलसँग नजिक रहेका केही कैदीबन्दी छन् । उनीहरूले आफ्ना मतदातालाई सम्बोधन गर्न खोज्नु अन्यथा होइन । तर, जेलभित्र रहेका कैदीबन्दीले त्यसो गर्दा सन्देश राम्रो जाँदैन । त्यसो हुँदा केही कैदीबन्दीलाई चुनाव अवधिभर टेलिफोन सेवा उपभोगमा कडाइ गरिएको साँचो हो,’ उनले भने ।

नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर उम्मेदवार बनेका छोरा डा. राजिकलाई आलम जसरी पनि जिताउन चाहन्थे । परिवारभित्रकै विश्वासपात्र राजापुर नगरपालिकाका तत्कालीन मेयर मोहम्मद सकिल अख्तरले अन्तिम समयमा एकाएक साथ छाडेर एमालेमा प्रवेश गरेपछि आमल दबाबमा थिए । त्यसैले राजापुरका स्थानीयलाई उनी आफैँ सम्बोधन गर्न चाहन्थे ।

फोन सम्बोधनको प्रबन्ध मिलाउन आलमले गृहमन्त्री बालकृष्ण खाणसमक्ष पनि प्रस्ताव पु¥याएका थिए । खाणको सकारात्मक संकेतपछि राजापुरका स्थानीयलाई एकै ठाउँ भेला गरेर भव्य कार्यक्रम गर्ने योजना बनेको थियो । गृहमन्त्री खाणले आफ्ना संयन्त्रमार्फत कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेलाई निर्देशन दिएका थिए । तर, घिमिरेले गलत सन्देश जाने भन्दै प्रस्ताव अस्वीकार गरेको स्रोतको भनाइ छ ।

‘एकपटक त्यस्तो अनौपचारिक कुरा आएको हो कि जस्तो लाग्छ । पछि यस विषयमा खासै कुराकानी भएन । त्यो हुने कुरा पनि होइन । अन्य विषयको सन्दर्भमा भने मलाई जानकारी छैन,’ महानिर्देशक घिमिरेले भने ।

चाहेको वेला जो–कोहीले पनि भेट्ने र घन्टौँ कुराकानी गर्न सक्ने वातावरण

कारागार स्रोतका अनुसार आलमलाई भेट्न कारागार व्यवस्था कार्यालयले सयमसीमा निर्धारण गरेको छैन । चाहेको वेला जो–कोहीले पनि भेट्ने र घन्टौँ कुराकानी गर्न सक्ने वातावरण मिलाएको छ । कतिपय भेटकर्ताको त कारागार कार्यालयमा विवरणसमेत उल्लेख नहुने स्रोतको दाबी छ । यस्तो सुविधा अन्य कैदीबन्दीलाई भने छैन ।

रेशम चौधरीको पनि टेलिफोन सुविधा कटौती

सात वर्षअघि कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीको पनि चुनाव अवधिभर टेलिफोन सुविधा कटौती गरिएको थियो । डिल्लीबजारस्थित सदरखोरमा कैदीजीवन बिताइरहेका उनले स्थानीय चुनाव अवधिभर भेटघाट भने तीव्र बनाएका थिए ।

चुनावअघि भने चौधरी घन्टौँ भेटघाटमा रहन्थे । गलत सन्देश जाने खतरा देखिएपछि विभागले परिवारका सदस्यबाहेक उनको राजनीतिक भेटघाटलाई कटौती गरेको थियो । यही क्रममा उनको टेलिफोन सुविधा पनि कटौतीमा परेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष