NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रदर्शनकारीले घेरेपछि निवासबाट भागे श्रीलंकाली राष्ट्रपति

कोलम्बो । हजारौं आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरिएका छन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थान तर्फ गएको डेलि मिरर दैनिकले जनाएको छ ।

राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ।

यसअघि आन्दोलनकारीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यु आदेश जारी गरिएको हो । कफ्र्यु कार्यान्वयनका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सकंट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन गरेका हुन् । उनले आर्थिक संकट, इन्धनको अभाव, मूल्य वृद्धि न्यूनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाई छ ।

आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । उनले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने उनीहरुको विश्वास छ ।

श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो ।