NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

श्लेष्मान्तक वनमा मर्निङवाकलगायतका क्रियाकलाप गर्न रोक

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थलीमा मानवीय गतिविधि रोक लगाएको छ । कोषले साउन १ गतेदेखि लागू हुनेगरी उक्त क्षेत्रमा मर्निङ वाक, जुम्बा, ब्यडमिन्टन, भलिबल, फुटबल खेल्नेलगायतका मानविय क्रियाकलाप गर्न रोक लगाएको हो ।

साउन १ गतेबाट यी गतिविधि भएको पाइएमा प्रचलित कानुनअनुसार कारवाही हुने कोषले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै कोषले यसबारे जानकारी गराएको हो ।

यस्ता क्रियाकलापले त्यहाँका जनावरको जीवन प्रक्रियामा अवरोध भएको र उक्त क्षेत्रका बोटविरुवा नष्ट भएको भन्दै कोषले रोक लगाउने निर्णय गरेको हो । जारी विज्ञप्तिमा कोषले यस्ता मानवीय क्रियाकलापका कारण यस क्षेत्रमा रहेका मृग, बाँदर तथा अन्य पशुपंक्षीहरू झनै आक्रमण भएको कोषले जनाएको छ ।

‘यस्ता गतिविधि तथा आवाजको कारण प्राणीहरुको दैनिक जीवन प्रक्रियामा अवरोध भइरहेको कारण यस क्षेत्रका बाँदरहरू आक्रामक भई वटुवालाई जथाभावी आक्रमण गर्ने तथा जंगल क्षेत्र छोडी बस्ती प्रवेश गर्नेजस्ता क्रियाकलाप गर्ने गरेको अवस्था देखिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्ता क्रियाकलापको कारण यस क्षेत्रका साधुसन्तहरूको ध्यान एवं पूजामा समेत अवरोध हुन थालेको जनाइएको छ ।

शिव र पार्वतीको क्रिडास्थल मानिने उक्त क्षेत्रलाई क्षेत्र विशुद्ध रुपमा धार्मिक एवं आध्यात्मिक ध्यान, योग गर्ने स्थलको रुपमा विकसित गर्नुपर्नेमा अप्राकृतिक गतिविधि भएको प्रति कोषको ध्यानाकर्षण भएको हो ।

वन क्षेत्रमा हरेक विहान मर्निङ्ग वाकका नाममा पौराणिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरूजस्तै, ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को संगीत÷साउण्ड सहित जुम्बा डान्स गर्ने, साइक्लिङ्ग गर्ने तथा योगका नाममा अप्राकृतिक विविध किसिमका क्रियाकलापले जनावरलाई दखल पुर्याएको जनाइएको छ ।

No description available.