NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ । स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन एवं सुधारका लागि निर्माण गरिएको न्यूनतम सेवा मापदण्डअनुसार काम गरेका आधारमा सो चौकी उत्कृष्ट बनेको हो ।

स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले गरेको मुल्याङ्कनका आधारमा गुण्डु सूर्यविनायक नगरपालिकाकै पहिलो र भक्तपुर जिल्लाकै दोस्रो उत्कृष्ट संस्था बनेको हो । चाँगुनारायण नगरपालिका–९ ताथली स्वास्थ्यचौकी प्रथम, सूर्यविनायक–७ गुण्डु स्वास्थ्यचौकी दोस्रो, चाँगुनारायणकै नगरकोट, दुवाकोट स्वास्थ्यचौकी तेस्रो र मध्यपुरथिमिको बोडे स्वास्थ्यचौकी पनि तेस्रो भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्यचौकी सहयोग व्यवस्थापनसहित तीनवटा खण्ड गरी २४ वटा सूचक निर्धारण गरी मूल्याङ्कन उत्कृष्ट स्वाथ्यचौकीको घोषणा गरिएको र यस्ता संस्थालाई रु ५० हजारका दरले रकम प्रदान गरिने उनले बताए । न्यूनतम सेवा मापदण्ड पूरा गर्ने क्रममा ५० प्रतिशत अङ्क प्राप्त गर्नेलाई सेतो, ५० देखि ६९ लाई पहेँलो, ७० देखि ८४ प्रतिशतलाई निलो र ८५ देखि १०० प्रतिशतलाई हरियो सिग्नल हुने गरी मुल्याङ्कन गरिएको थियो ।

ती सूचकमध्ये अधिकांशमा हरियो सङ्केत चिह्न प्राप्त गर्दै गुण्डु स्वास्थ्यचौकीले ९२ अङ्क प्राप्त गरी सेवा प्रवाह र उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनमा गुण्डु सूर्यविनायक नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो बनेको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष तथा गुण्डु स्वास्थ्यचौकी व्यवस्थापन समितिको अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

स्वास्थ्यचौकीले बरिहङ्ग सेवा, खोप, वृद्धि मूल्याङ्कन, परिवार नियोजन सेवा, एएनसी र पिएनसी सेवा, ड्रेसिङ, प्रयोगशाला सेवा, इन्जेक्सन र दैनिक प्रक्रियामा हरियो सङ्केत चिह्न प्राप्त गरेको थियो भने डट्स क्लिनिक र औषधि सेवामा निलो सङ्केत चिह्न प्राप्त गरेको थियो । स्वास्थ्यचौकीले उपकरण प्रशोधन एवं निर्मलीकरण, विद्युत् तथा अन्य ऊर्जाको प्रणाली, पानीको स्रोत, स्वास्थ्य सेवाजन्य फोहर व्यवस्थापन, सरसफाइ, सुरक्षा र संरक्षण, यातायात साधन र मेडिकल उपकरणमका पनि हरियो सङ्केत चिह्न प्राप्त गरेको छ ।