NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पूर्वप्रधानमन्त्री एक्लैले राख्छन् १६ सुरक्षाकर्मी, कसले कति ?

काठमाडौं । सरकारले सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार विशिष्ट व्यक्तिका लागि सुरक्षाकर्मी खटाउने गर्छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवथापन कार्यविधि, २०७७ अनुसार २३ विशिष्ट कर्मचारीहरूको सुरक्षाका लागि दुई सय १४ जना सशस्त्र प्रहरी खटिएका छन् । यो तथ्यांश सशस्त्र प्रहरीतर्फको मात्रै हो ।

त्यसमध्ये सबैभन्दा धेरै सुरक्षाकर्मी प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका छन् । बालुवाटारमा हाल ३५ जना सशस्त्र प्रहरीले प्रधानमन्त्री निवासलाई सुरक्षा दिन्छन् ।

सबैभन्दा धेरै सुरक्षाकर्मी प्रयोग गर्नेमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल छन् । उनीहरू एकजनाको निवासमा मात्रै १६ जना सुरक्षाकर्मी खटिएका छन् ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निवासमा १२ जना सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई १० सुरक्षाकर्मी दिइएको छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिएका छन् ।

त्यस्तैगरी पूर्व राजपरिवारको सुरक्षाका लागि सरकारले १६ जना सुरक्षाकर्मी खटाएको छ ।

हाल उपराष्ट्रपतिको कार्यालयमा सूचना समन्वय कक्षमा तीनजना सशस्त्र प्रहरी तैनाथ छन् । गृहमन्त्री बालकृष्ण खाँडलाई सातजना सशस्त्र प्रहरीले सुरक्षा दिन्छन् । गृह सचिव टेकनारायण पाण्डेको सुरक्षामा ६ जना र मुख्यसचिव शंकरप्रसाद बैरागीको सुरक्षाका लागि ६ जना सशस्त्र प्रहरी खटिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादव र स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसीलाई पाँच जना सुरक्षाकर्मी दिइएको छ ।

संवैधानिक निकायका पूर्व प्रमुखहरूको सुरक्षा व्यवस्थामा पनि राज्यले सुरक्षाकर्मी खटाएको छ । हाल पूर्व प्रधानन्यायाधिश सुशिला कार्की, ओमप्रकाश मिश्र, गोपाल पराजुलीका लागि ६ जना सशस्त्र प्रहरी खटाइएको छ ।

त्यस्तैगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्तहरू दिप कुमार बस्नेतको सुरक्षामा पाँच, नविन कुमार घिमिरेको लागि ६ जना सुरक्षाकर्मी खटिएका छन् ।

पूर्व अनुसन्धान विभाग प्रमुख गणेश अधिकारीका लागि एक, पूर्व मुख्य अनुसन्धान निर्देशक दिलिप रेग्मीका लागि एक, पूर्व उपराष्ट्रपति परमानन्द झाका लागि पाँचजना सुरक्षाकर्मी उपलब्ध गराइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष