NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘फोहर व्यवस्थापनमा कामपालाई सहयोग गर्छौँ’

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौं महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाकाका प्रमुखका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ ।

कामपा आगामी साउन १ गतेदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्दैछ । ‘स्रोतमा नै फोहर नमिसाउने’ अभियानअन्तर्गत कामपाले आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहर सङ्कलन गर्न लागेको जनाइएको छ । जनचेतना जगाउन उसले घरदैलो अभियान जारी राखेको छ ।

चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र कामपा प्रमुख बालेन्द्र साहबीच आज चन्द्रागिरि नगपालिकामा भएको भेटवार्तामा फोहर व्यवस्थालगायत अन्य क्षेत्रमा सहकार्य गर्दै जाने विषयमा छलफल भएको छ ।

गिरीले कुहिने फोहरबाट कम्पोष्ट मल बनाई आयआर्जनको माध्यम बनाउन निजी क्षेत्रलाई नगरपालिकाले उत्प्रेरणा दिइरहेको जानकारी दिँदै फोहर व्यवस्थामा काठमाडौँ उपत्यकाका नगरपालिका बीचमा एकीकृत नीतिका साथ सहकार्य आवश्यक रहेको बताए ।

नगरप्रमुख गिरीले कुहिने र नकुहिने फोहर अलग–अलग राख्न नगर क्षेत्रमा जनचेतना जगाइने र यसका लागि विद्यालय, धार्मिक सङ्घसंस्था, गुठीका साथ जनप्रतिनिधिलाई परिचालन गरिने जानकारी दिए ।

कामपाका प्रमुख साहले महानगरपालिकाले साउन १ गतेदेखि फोहर व्यवस्थाअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन गर्न सुरुआत गर्न लागेको जानकारी दिँदै महानगरसँग जोडिएका अन्य नगरपालिकामा पनि यही यसरी नै फोहर सङकलन गर्न आग्रह गरे ।