NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले र कांग्रेसबीच लफडा भएपछि वडाध्यक्षलाई यसरी खसालियो स्वीमिङपुलमा

काठमाडौं । रुपन्देहीको तिलोत्तममा नगरपालिकामा नगरसभामा तनावको स्थिति उत्पन्न हुँदा वडाध्यक्ष स्वीमिङपुलमा खसालिएका छन् ।

यसरी स्वीमिङ पुलमा खसालिने वडाध्यक्ष तिलोत्तमा ४ का हरिबहादुर क्षेत्री हुन् । यसपटकको स्थानीय तह निर्वाचनमा उनी एमालेबाट निर्वाचित भएका थिए । बजेट पासको लफडा बढ्दै जाँदा भएको ठेलमठेलमा कांग्रेस निकटका जनप्रतिनिधिले वडाध्यक्षलाई स्वीमिङ पुलमा खसालेका हुन् ।

किन भयो लफडा ?

नगरसभामा आइतबार पनि ९० मध्ये ४२ सदस्य मात्रै उपस्थित भएपछि सभा स्थगित हुन पुग्यो । बजेट पास गर्नुपर्ने सभा यस अघि ३१ असारमा पनि स्थगित भएको थियो । सभामा एमालेको बहुमत छ । यही बहुमतको आधारमा एमालेले समस्या सिर्जना गर्न खोजेको आरोप कांग्रेस पक्षधरको छ ।

उपमेयर जागेश्वरी चौधरी कांग्रेसविरुद्ध नारा लगाउन अपिल गरेको कांग्रेस मुर्दावाद र मेयरलाई तँ भनेको भन्दै कांग्रेसका जनप्रतिनिधि आक्रोशित भएको बताइएको छ ।

रुपेन्देहीस्थित तिलोत्तमा नगरपालिकामा आज पनि आर्थिक वर्ष २०७९/८० को बजेट पास नभएपछि माहोल तनावग्रस्त भएको छ । यसअघि पनि असार ३१ गते आह्वान गरिएको बैठकमा बजेट पास हुन सकेको थिएन ।

नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपुरक नपुगेको भन्दै बैठक स्थगित गरेपछि जनप्रतिनिधिहरू नाराबाजीमा उत्रिएका थिए ।

एमालेका जनप्रतिनिधिहरूले नगर प्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

उनीहरूले ज्ञवालीको राजीनामासमेत माग गर्दै नारा लगाएका छन् । गणपुरक पुग्दा पनि ज्ञवालीले हाजिर गर्न नदिएर नियोजित रूपमा संख्या नपुर्याइएको उनीहरूको आरोप छ ।

नेपालवाचसँगको कुराकानीमा नगरप्रमुख खाँणले नगरसभा सदस्यहरू ढिलो आएकै कारण बैठक भोलि १ बजेको लागि सारिएको जानकारी दिए ।

‘भनेको समयमा नआएपछि गणपुरक कसरी पुग्छ ? तरकारी किन्न गएजसरी नगरसभाको बैठकमा आएर हुन्छ ?,’ उनले भने, ‘उहाँहरू सभाध्यक्षले रुलिङ गरिसकेपछि आउनुभयो । त्यसैले समयमा संख्या नपुगेपछि बैठक सार्नुपर्ने स्थिति आएको हो ।’