NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

छाउनीको १५ रोपनी जग्गा प्रेरणालाई अझै एक वर्ष निःशुल्क दिने तयारी

काठमाडौं । पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाहको छाउनीस्थित १५ रोपनी जग्गा र घर नेपाल ट्रस्टको हुने भनेर सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएकै अढाइ वर्ष बितिसकेको छ । तर सरकारले भने करिब एक अर्ब २० करोडबराबरको सो सम्पत्ति ट्रस्टमातहत ल्याउनुको सट्टा अझै एक वर्ष प्रेरणालाई निःशुल्क प्रयोग गर्न दिने तयारी गरेको छ ।

यसअघि पनि सरकारले पटक–पटक प्रेरणालाई अढाइ वर्ष प्रयोग गर्न दिने निर्णय गरेको थियो । तर गत वर्ष असारमा फेरि अन्तिमपटक भनेर तत्कालीन केपी ओली नेतृत्वको सरकारले एक वर्ष अवधि थपिदिएको थियो । जसको म्याद ७ असारमै सकिएको छ । फेरि पनि एक वर्ष समय थप गर्न दबाब आएको स्रोत बताउँछ ।

थप एक वर्ष निःशुल्क घरजग्गा प्रयोग गर्न माग गर्दै प्रेरणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई निवेदन दिएकी छन् । त्यसकै आधारमा उनलाई फेरि एक वर्षका लागि दिने तयारी भइरहेको छ । यसप्रति ट्रस्टका कर्मचारी भने असन्तुष्ट छन् । सो जग्गा भाडामा लगाउन सके राज्यलाई करोडौं आम्दानी हुने उनीहरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।