NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

देउवालाई पाँच वर्षअघि प्रश्न गरेका युवा ढकाल देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं ?’ भन्दै पाँच वर्ष अघि प्रश्न गरेका युवाले उनीसँगै चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । पाँच वर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकालले डडेल्धुरा १ बाट आगामी प्रतिनिधिसभाको चुनावमा चुनाव लड्ने घोषणा गरेका हुन् । डडेल्धुरा १ प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो ।

अब मुलुकमा ४० वर्ष मुनिको प्रधानमन्त्री आवश्यक रहेको भन्दै उनले डडेल्धुराबाट चुनाव उठ्ने घोषणा गरेका हुन् ।

‘डडेलधुराका युवाहरूको लागि विशेष आग्रह : गुल्मीको युवा डडेलधुरामा उठ्ने र डडेलधुराको युवा गुल्मीमा । हजुरहरू सबैलाई थाहा नै छ, म डडेलधुरामा हालका प्रधानमन्त्री शेर बहादुरको क्षेत्रबाट उठ्दै छु’ उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘अधिकांशले गुल्मीबाट वा बुटवलबाट वा काठमाडौँबाट उठेमा डडेलधुराको तुलनामा धेरै नै सहज हुने सल्लाह दिनुभए पनि सो सल्लाहको चुनौती र अवसरहरूलाई समीक्षा गरेर नै डडेलधुराबाट नै उठ्ने निर्णय गरेका हौं ।’

आफ्नो उम्मेदवारी डडेल्धुराबाट भए पनि बुटवल, काठमाडौं र गुल्मीबाट चुनाव जित्ने सम्भावनालाइ भरपुर उपयोग गने उनले बताएका छन् ।
‘मेरो उम्मेदवारी डडेलधुराबाट भए पनि मेरो बुटवल, काठमाडौँ र गुल्मीबाट चुनाव जित्ने सम्भावनालाई भरपुर उपयोग गर्न चाहन्छौ’ उनले भनेका छन्, ‘गुल्मीले जन्माएको युवा छोरो डडेलधुराबाट उठ्छ भने डडेलधुराले जन्माएको युवा गुल्मीबाट किन नउठ्ने ?’

तसर्थ डडेलधुराको कोही युवाहरू गुल्मीको दुवै क्षेत्रमा उठ्न चाहनुहुन्छ भने छिटो भन्दा छिटो सम्पर्कमा रहनुहोला भन्दै उनले चुनावमा उठ्न युवाहरूलाई आग्रह पनि गरेका छन् ।

‘त्यो भन्दै गर्दा मेरो डडेलधुराका युवाहरूलाई के आग्रह छ भन्दा – हजुरहरूको प्रतिस्पर्धी प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, चन्द्र भण्डारी, रामकुमारी झाँक्री लगायतका हाम्रो बुबा–आमाहरूको पुस्ताका नेताहरू त्यो क्षेत्रमा हुनुहुन्छ। मैले सबैलाई आत्मा देखि नै सम्मान गर्छु तर अब प्रतिनिधि सभामा उहाँहरू प्रत्यक्ष जानुपर्छ भन्ने कुराको समर्थन गर्न सक्दिनँ’ उनले सामाजिक संजालमा भनेका छन्, ‘तसर्थ उहाँहरूको बौद्धिकता र शालीनतालाई हजुरहरूले सम्मान गर्दै उहाँहरूलाई सल्लाहकारमा राखेर नेतृत्व चाहिँ हजुरले नै लिनुपर्ने हुन्छ। यदि हजुरमा आट र हिम्मत छ भने हाम्रो समूहमा जोडिनु होला ।’

उनले ४० वर्ष मुनिको प्रधानमन्त्री बनाउन अपिल गरेका छन् ।

‘यदि हजुर जोडिन चाहनुहुन्छ भने ४० मुनिको प्रधानमन्त्री बनाऊ अभियानको राजनीतिक प्रस्तावमा रहेको फर्म भर्नुहोला’ उनले भनेका छन् ।

ढकाल पेशाले इन्जिनियर हुन् । उनी आफैंले पनि बेलायतको अक्सपोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।

पाँच वर्ष अघि देउवासँग जवालजवाफ गर्ने उनै ढकाल अहिले देउवासँग भिड्न तयार भएका हुन् । विश्वभर अक्सफोर्ड युनिभर्सिटी पढेको प्रधानमन्त्री हुने भन्दै नेपालमा कहिले हुन्छ भन्दा देउवाले तपाईं बढ्दा बोल्दै हुनुहुन्छ भन्दै आक्रोश व्यक्त गरेका थिए । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

देउवासँग ती युवाकाे यसरी भएकाे थियाे सवालजवाफ