NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवाका लागि पहल हुने

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनञ्जय रेग्मी र नेपालका अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा सोमबार भएको भेटमा देशबीच दुवै देशको पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।

दुई देशबीच लामो समयदेखि प्रगाढ सम्बन्ध रही आएको उल्लेख गर्दै भेटका अवसरमा आर्थिक तथा पर्यटन कूटनीतिका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको थियो । यस्तै दुवै देशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरूको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिन र पर्यटनका राम्रा अभ्यास आदान–प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।

बोर्डका सिइओ डा. रेग्मीले कोभिड १९ पछि अहिले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको जानकारी दिँदैे साहसिक पर्यटनमा रुची राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताए । उनले अष्ट्रेलिया र नेपालबीच सीधा हवाई कनेक्टिभिटी नभएको कारण पर्यटक कम आएको उल्लेख गर्दै हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे ।

नेपालका अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए । अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कुटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अगाडी बढाउनु पर्नेमा जोड दिए ।