मधेसमा वर्षाले राहत
महोत्तरी । उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहितका मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् ।
पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी परेको हो । “धान अब के होला भनेर आश मारेका थियौँ, आजको वर्षाले फेरि आश जगायो”, बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भने, “अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ ।”
आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको महोत्तरीका किसानको भनाइ छ । केही बेरकै भए पनि आजको वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ ।
आजको वर्षाले चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाईबस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।
यसैबीच मौसमविद्ले अब दुईरतीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । महोत्तरीमा हालसम्म पानीको अभावले धान रोपाइँ गतिमा बढ्न सकेको छैन ।
कूल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म ४५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया