NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सपथ लिन नपाउँदै राष्ट्रपति विक्रमासिङ्घेको राजीनामा माग्दै श्रीलंकाली

काठमाडौं । संकटका बीच श्रीलंकाले नयाँ राष्ट्रपति पाएको छ । पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाेडेर भागेपछि अन्तरिम राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित भएका छन् । रनिलको कार्यकाल नोभेम्बर २०२४ सम्म रहनेछ ।

श्रीलंका अहिले गहिरो आर्थिक र राजनीतिक संकटमा छ । मुलुक खाद्य संकट, इन्धन र दैनिक उपभोग्य वस्तुको चरम अभावको सामना गरिरहेको छ ।

अन्तरिम राष्ट्रपति रनिल राष्ट्रपति पदका लागि अग्रपंक्तिमा थिए । भारतसमर्थक रनिल अहिले राष्ट्रपति भइसकेका छन्, तर सबैभन्दा ठूलो प्रश्न जनताले उनलाई राष्ट्रपतिमा स्वीकार गर्नेछन् त ? भन्ने उठिरहेको छ । अहिले पुनः श्रीलंकाली जनताहरुले उनको राजीनामा मागिरहेका छन् ।

कोलम्बोमा भएको प्रदर्शनमा संलग्न एक प्रदर्शनकारीका अनुसार मानिसहरूले रनिल विक्रमासिङ्घेलाई विश्वास गर्दैनन् ।

कोलम्बोका एक वरिष्ठ पत्रकारका अनुसार रनिल राष्ट्रपतिमा निर्वाचित भएपछि श्रीलंकामा विरोधको नयाँ लहर सुरु हुन सक्छ । वास्तवमा विपक्षी दलका नेता सजित प्रेमदासा राष्ट्रपतिको दौडबाट बाहिरिएपछि ३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

सत्तारुढ दलका विद्रोही सांसद दुलास अल्हपेरुमालाई प्रतिपक्षको समर्थन थियो । जबकि वामपन्थी राष्ट्रिय जनशक्ति पार्टी (जेभीपी) की नेतृ अनुरा कुमार दसानायके पनि राष्ट्रपति पदको दौडमा थिइन् ।

विक्रमासिंघे श्रीलंकाको ६ पटक प्रधानमन्त्री भइसकेका छन् तर कार्यकाल पूरा गर्न सकेनन् । उनलाई भारत समर्थक मानिन्छ ।

श्रीलंकाको संसदका कुल २२५ सांसदले मतदानमा भाग लिएका थिए । जसमा विक्रमासिङ्घेले सबैभन्दा बढी १३४ मत पाए । त्यसैगरी दुलास अल्हपेरुमाले ८२ मत पाए । कुनै एक उम्मेदवारले आधाभन्दा बढी मत प्राप्त गरेमा राष्ट्रपति निर्वाचित हुन्छ ।

अब विक्रमासिङ्घे श्रीलंकाको संसदबाट राष्ट्रपति निर्वाचित भए पनि उनी आम जनतामा निकै अलोकप्रिय छन् । गोटाबाय राजापाक्षे देशबाट भागेपछि उनले रनिललाई अन्तरिम राष्ट्रपति नियुक्त गरेका थिए ।

राजनीतिक र आर्थिक अनिश्चिततामा फसेको श्रीलंकालाई यस समयमा एक स्थिर सरकार चाहिन्छ जसले राहत प्याकेजको लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्ता जारी राख्न सक्छ । श्रीलंका र आईएमएफबीच राहत प्याकेजको लागि वार्ता हाल रोकिएको छ ।

विक्रमासिङ्घेलाई राजापाक्षे परिवारको भरपर्दो व्यक्ति मानिने भएकाले अहिले आन्दोलनकारीहरूले पनि उनको विरोध गरिरहेका छन् । आन्दोलनकारीले उनको राजीनामा मागेका छन् ।

गोटाबाया राजापाक्षे र उनको परिवारले विगत तीन दशकसम्म श्रीलंकामा शासन गरे तर श्रीलंका आर्थिक संकटमा फसेपछि यहाँका जनता राजापाक्षे परिवारको विरुद्धमा उत्रिए । प्रदर्शनकारीहरूले श्रीलंकाका राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयलगायत सरकारी भवनहरू कब्जा गरेका थिए । त्यसपछि गोटाबाया राजापाक्षे गत हप्ता माल्दिभ्स भागे र त्यहाँबाट सिंगापुर पुगेका छन् ।

संकट सुरू भएपछि प्रदर्शनकारीले रनिल विक्रमासिङ्घेको घरमा आगजनी गर्नुका साथै प्रधानमन्त्रीको कार्यालयलाई समेत कब्जामा लिएका छन् ।

श्रीलंकाका जनता राजापाक्षे परिवारले देशको स्रोतसाधन निजी क्षेत्रलाई सुम्पेर व्यापक भ्रष्टाचार गरेको विश्वास गर्छन् । जसका कारण देश गरिबीको कगारमा उभिएको छ । अहिले रनिल राजापाक्षे परिवारको सबैभन्दा विश्वासिलो व्यक्ति बनेका छन् । यस्तो अवस्थामा उनीहरुले जनताको विरोध पनि भोगिरहेका छन् ।

राष्ट्रपतिको दौडमा अगाडि मानिने विपक्षी दलका नेता सजित प्रेमदासाले मङ्गलबार साँझ अचानक आफू राष्ट्रपतिको निर्वाचनमा नउठ्नु नै श्रीलंकाको बृहत्तर हितमा हुने बताए । त्यसपछि विपक्षी दलले गोटाबाया राजापाक्षेको मन्त्रिपरिषद्मा मन्त्री रहेका दुलास अल्हपेरुमालाई समर्थन गर्याे ।

संसदमा प्रेमदासाको पार्टीको एक चौथाई सिट छ । उनले दुलासलाई समर्थन गरेका छन् । श्रीलंकाका स्थानीय पत्रकारहरुका अनुसार दुलासलाई राष्ट्रपति बनाउन सफल भएको भए उनले प्रधानमन्त्री पद पाउन सक्थे । तर, यो हुन सकेन ।

दुलास अल्हपेरुमा सत्तारुढ पार्टी श्रीलंका पोदुजाना पेरामुनाका सांसद हुन् । गोटाबाया राजापाक्षेको पार्टी एसएलपिपी गत निर्वाचनमा भारी बहुमतका साथ विजयी भएको थियो ।

यसै वर्षको अप्रिलमा श्रीलंकामा आर्थिक संकटको विरोधमा आन्दोलन सुरु भएपछि श्रीलंकाको सम्पूर्ण मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो । तीमध्ये दुलास पनि थिए ।

राष्ट्रपतिको दौडमा वामपन्थी उम्मेदवार अनुरा दिसानायके अग्रपंक्तिमा थिइन् । तर, पछिल्ला महिनाहरूमा श्रीलंकाको सङ्कटको बीचमा वामपन्थी दलहरूले आफ्नो राजनीतिक जग बलियो बनाएका छन् । यदि श्रीलंकामा छिट्टै नयाँ निर्वाचन भयो भने वामपन्थी दलहरूले फाइदा लिन सक्छन्, यसो भएमा वामपन्थी सरकार गठनले चीनको हस्तक्षेप बढाउने निश्चित नै छ ।