उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकलाई सास्ती
रुकुमपूर्व । उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् ।
वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन् ।
अहिले उत्तरगङ्गा नदीको बहाव झन् बढेको छ ।
अहिले रुकुमकोटबाट तकसेराका लागि जाने सवारीसाधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगङ्गा पारिपट्टिबाट अर्को सवारीसाधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताए । उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् ।
पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ । अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ । अहिलेसम्म पुल नहुँदा उत्तरगङ्गा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन् ।
मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगङ्गा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ ।
यस वर्ष पनि उत्तरगङ्गाको बहाव बढेसँगै उत्तरगङ्गा पारिपट्टि चल्ने सवारीसाधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले जानकारी दिए ।
यो सहिद मार्गअन्तर्गतको रुकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगङ्गामा मुख्य सडक हो । पुल निर्माणका लागि डिपिआर भइसकेको थियो ।
हालसम्म पनि पुल निर्माण हुनसकेको छैन । पुल बनाउने प्रक्रिया सुरु भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए । अब भने छिट्टै पुल निर्माणको प्रक्रिया सुरु हुने अध्यक्ष घर्तीले बताएका छन् ।
पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेराबीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया