NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

चार वर्षपछि पर्दामा फर्किएका रणवीरलाई रातोबत्ती

‘शमशेरा’ले किन तान्न सकेन दर्शक ?

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ले रिलिजअघि जति दर्शकलाई तानेको थियो, फिल्म रिलिजपछि भने यसको प्रभाव घट्दै गएको छ ।  कपुरको यो फिल्मबाट धेरै आशा गरिरएकाे थियाे । तर फिल्मले यी अपेक्षाहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहेपछि रिलिज भएको यो अभिनेताको पहिलो फिल्म हो । पहिलो दिनदेखि नै कमजोर प्रदर्शन गरेको फिल्मले आइतबारको बिदाकाे दिन पनि खासै दर्शक बटुल्न सकेन ।

दिनको अन्त्यमा फिल्मले तेस्रो दिनको कमाइको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार आइतबार फिल्मको व्यापारमा कमी आएको छ ।

फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा १०.२५ करोड कमाएको थियो भने दोस्रो दिनको प्रदर्शनमा केही सुधार गर्दै १०.७५ करोड संकलन गरेको थियो । तर रिलिजको तेस्रो दिन करिब १० करोड ५० लाख मात्र कमाउन सक्यो ।

फिल्मले तीन दिनमा कुल ३१.५ करोडको व्यापार गरेको छ । तर, सप्ताहन्तमा ५० करोडको आँकडा छुनमा फिल्म ठूलो अन्तरले पछि पर्यो । पहिलो दिन फिल्मको कलेक्सन हेर्दा फिल्मले सप्ताहन्तमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो । तर रणवीर कपूरको स्टार पावरले दर्शकलाई थिएटरतर्फ तान्न सकेन ।

योसँगै घरेलु बक्स अफिसका साथै दक्षिण भारतमा पनि मानिसहरूले यसलाई ठाडै अस्वीकार गरेका छन् । यो चलचित्र निकै ठूलो परिमाणमा रिलिज भएपनि अहिले खासै प्रभाव पर्ने देखिदैन ।

१५० करोडको लागतमा बनेको यो फिल्मले बजारबाट आफ्नो लागत उठाउन पनि करिब १५० करोड कमाउनुपर्नेछ । तर फिल्मको यस्तो प्रदर्शन हेर्दा अपेक्षा कम भएको देखिन्छ । फिल्मको कमजोर प्रदर्शनका बीच फिल्म ‘शमशेरा’ झण्डै आधा दर्जन वेबसाइट र टोरेन्टमा लिक भएको पनि खबर आएको छ । धेरै थिएटरमा यो फिल्म हेर्न दर्शक नपुगेकाले यसको सो रद्द हुने खबर पनि आएको छ । यस्तो अवस्थामा फिल्मको प्रदर्शनलाई हेर्दा फिल्मले केही अचम्मको काम गर्न सक्छ कि सक्दैन भन्न गाह्रो छ ।

रणवीर कपुर, वाणी र सञ्जय दत्तजस्ता उत्कृष्ट स्टारहरूले सजिएको यो फिल्म २२ जुलाईमा रिलिज भएको छ। यसमा रणवीर कपुर दोहोरो भूमिकामा छन् । यसमा अभिनेता सञ्जय दत्त डरलाग्दो पात्रका रूपमा देखिएका छन् । फिल्ममा रणवीर कपुरले डाँकुको भूमिका निभाएका छन् । वर्कफ्रन्टमा, रणवीर अब आलिया भट्टसँग अयान मुखर्जीको ब्रह्मास्त्रमा देखिनेछन्। उनी फिल्म एनिमलमा पनि देखिनेछन् ।