पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो ।
पशुपतिनाथ मन्दिरमा गतहप्ताभन्दा भारतीय पर्यटक पनि बढेका छन् । केही भारतीय स्वामीहरुले आज पशुपतिनाथको दर्शन गरेका थिए।
जुना अखडाका स्वामी यतीन्द्रानन्द, राष्ट्रिय स्वयंसेवक सङ्घका उपप्रमुख इन्द्रेशकुमार, भारतको केही प्रान्तका पूर्वमुख्यमन्त्रीहरुले समेत आज पशुपतिनाथमा दर्शन गरेको उनले बताए ।
पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीको पनि उल्लेख्य सहभागिता छ । सुन्दरीजलबाट शुद्ध जल लिएर आई बोल बम यात्रीले पशुपतिनाथ मन्दिरमा अर्पण गरिरहेका छन् ।
बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउन चाहनेको चार ढोकामध्ये एक ढोकामा व्यवस्था गरिएको जनाइएको छ । साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ ।
साउन भगवान् शिवजीको महीना मानिन्छ । सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।
साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ । यसो गरेमा विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ ।
यसै मान्यताका आधारमा साउनको सोमबार देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत काठमाडौं उपत्यकाका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् ।
ताजा अपडेट
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
प्रतिक्रिया