NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते

पहिलोपटक लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा

काठमाडौं । लोकसेवा तयारीका क्रममा निम्तिने द्विविधा अनगिन्ती छन् । त्यसमा पनि पहिलोपटक झनै धेरै अन्योलता सिर्जना भइरहेका हुन्छन् । के पढ्ने, के नपढ्ने, कसरी पढ्ने, पढेका विषयवस्तुलाई सटिक रूपमा कसरी ढाँचा मिलाएर प्रस्तुत गर्ने ? लोक सेवा तयारीमा रहेकाले बरोबर गरिरहने प्रश्न हो यो ।

पुस्तक छनोटबारे

बजारमा लोक सेवा तयारीका लागि भनेर विभिन्न लेखकका अनेक पुस्तक उपलब्ध छन् । पुस्तक छनोटमा पनि उत्तिकै द्विविधा हुनसक्छ । त्यसका लागि सर्वप्रथम लेखकको योग्यता, पृष्ठभूमि र अनुभवलाई ध्यान दिनुपर्ने हुन्छ । जुन विषयको पुस्तक हो, सोही विषयसँग सम्बन्धित योग्यता र अनुभव भएका लेखक भए पुस्तक बढी विश्वसनीय हुनसक्छ ।

दोस्रो, लेखकले विषयसँग सम्बन्धित कति सन्दर्भ सामग्री अध्ययन गरेर पुस्तक लेखेको छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ । यो थाहा पाउन पुस्तकको अन्त्यमा राखिएको सन्दर्भ सामग्रीको सूची हेर्नु पर्छ । तेस्रो, विषयवस्तुको प्रस्तुति कत्तिको सान्दर्भिक, गहन र सरल छ, सरसर्ती हेर्नु पर्दछ । चौथो, विषयवस्तुको अद्यावधिकतालाई ध्यान दिनुपर्छ । पुस्तकको पछिल्लो संस्करण भर्खरै भएको छ र पुस्तकमा प्रयोग भएका तथ्यांकहरू अद्यावधिक छन् भने राम्रो हुन्छ । कतिपय पुस्तकले संस्करण मिति हालसालैको राखेका भए पनि विषयवस्तु र तथ्यांकहरू अद्यावधिक नगरेका पनि हुन सक्छन् ।

ध्यान केन्द्रित गर्न के गर्ने ?

यदि तपाईं पहिलोपटक लोकसेवाको तयारीमा हुनुहुन्छ भने पढ्न बसेपछि मनमा अनेका कुरा खेल्छन् । पढाइमा एकाग्रता अभ्यासबाट मात्र हासिल गर्न सकिन्छ । त्यसैले सुरु–सुरुमा पढ्न खोज्दा मनमा अनेकन कुरा खेल्ने गर्नु स्वाभाविक हो । तर तपार्इंमा गहिरो इच्छाशक्ति, दह्रिलो लगाव र अथक निरन्तरता भयो भने क्रमशः यस्तो अनुभव हुँदै जानेछ कि तपाईंलाई पढ्न थालेपछि समय बितेको पत्तो नै हुनेछैन । त्यसैले नियमित रूपमा निरन्तर अध्ययन गर्ने बानी बसाल्नु पर्दछ । ध्यान नगएको अवस्थामा लेख्दै, पढ्दै गर्नाले पनि एकाग्रता बढाउन मद्दत पुग्छ । प्रत्येक दिन बिहान उठ्नासाथ १५ मिनेट जति ध्यान गर्ने बानी बसाल्नाले पनि दिमागलाई एकाग्र राख्न सक्ने क्षमता बढ्छ ।

प्रश्नपत्र हलबारे

विषयवस्तुको जानकारी हुन्छ, लेख्न सक्छु भन्ने पनि हुन्छ तर कहाँबाट कसरी लेख्न सुरु गर्ने, व्याख्या र अन्त्य कसरी गर्ने ? त्यसको भेउ पाइँदैन । अलमल नै अलमल हुन्छ । अलमल भएपछि आफूले जानेका र मनमा आएका कुरा प्रष्टसँग लेख्न सकिँदैन । यस्तो अवस्थामा प्रश्नको उत्तर लेख्न सुरु गर्नुपूर्व प्रश्नलाई ध्यान दिएर पढ्ने र प्रश्नका खण्ड पहिचान गरी कि वर्डहरू अन्डरलाइन गर्नुपर्छ । त्यसपछि कि वर्डका आधारमा प्रत्येक खण्डको शीर्षक राखी प्रश्नले मागेको विषयलाई मात्र सरल र संक्षिप्त रूपमा सोझै लेख्नु पर्दछ । सम्भव भएसम्म उत्तर लेख्दा बुँदागत रूपमा प्रस्तुत गर्नु पर्दछ । आफ्नो प्रस्तुतिलाई तार्किक र वैध बनाउन सान्दर्भिक तथ्य तथा उदाहरणहरू दिन सकिन्छ । परीक्षामा धेरै व्याख्यात्मक शैलीको प्रयोग भने गर्न सम्भव हुँदैन । त्यसैले तयारीको बेलादेखि नै एउटा निश्चित खाकाभित्र रहेर उत्तर लेख्न पर्याप्त अभ्यास गर्नाले मात्र परीक्षामा जस्तो सुकै प्रश्नको पनि कुनै अन्योलताबेगर समाधान गर्न सकिन्छ ।

लोकसेवाको परिक्षामा सोधिएका प्रश्नहरूको कतिपय उत्तर तथ्य र तथ्यांकमा दिनुपर्छ भने कतिपय आफ्नै ब्याख्यात्मक शैलीमा । तर कतिपयमा यी सबै आयामलाई समेट्नुपर्छ । एउटै उत्तरमा तथ्य, तथ्यांक र आफ्नो मौलिक व्याख्यालाई कुन हदमा र कसरी समेट्ने भन्ने द्विविधा हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ?

प्रश्न क्वालिटेटिभ र क्वान्टिटेटिभ गरी दुई प्रकृतिका हुन सक्छन् । तथ्यांकको प्रस्तुति, तुलना र विश्लेणको अपेक्षा गर्ने प्रश्नलाई क्वान्टिटेटिभ प्रश्न मान्न सकिन्छ भने आफ्नो बुझाइ, स्थापित सिद्धान्त तथा मान्यताहरू र राष्टिय तथा अन्तर्राष्टिय अभ्यासका आधारमा विषयवस्तुको व्याख्या एवं विश्लेषण गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने प्रश्नलाई क्वालिटेटिभ प्रश्नका रूपमा लिन सकिछ । तर कहिलेकाहीँ एउटै प्रश्नमा दुवै प्रकृतिको मिश्रण हुनसक्छ । त्यस्तो अवस्थामा तथ्यांकको प्रस्तुति र विश्लेषण गर्दा बढी वस्तुगत र निरपेक्ष भई गनु पर्छ भने त्यस्तो तथ्यपरक विश्लेषणका आधारमा आफूले गर्ने सिफारिस वा निकाल्ने निष्कर्षचाहिँ मौलिक र विषयगत हुनु पर्दछ । यद्यपि, जस्तो प्रकृतिको प्रश्न भए पनि अत्यधिक तथ्यांक प्रस्तुति गर्नु वा पूर्ण रूपमा तथ्यविहीन भई मनोगत उत्तर लेख्नु दुवै राम्रो होइन । तथ्य र तर्कको सम्मिश्रणले मात्र उत्तरलाई सार्थक बनाउँछ ।

पढेका कुरा स्मरण गर्न र जानेका कुरा लेख्न के गर्ने ?

विद्यार्थीको अर्को समस्या हो, तयारी गर्दै गर्दा पढ्ने बेला पढेका कुरा दिमागमा बसेजस्तो लाग्छ, तर उत्तर दिने बेला पढेका कुरा आउँदैनन् । यो पनि साझा समस्या हो । यस्तो भएमा आफूले कस्तो अध्ययन विधि अपनाइरहेको छु भन्नेबारे ध्यान दिनुपर्छ । यसको एउटै उपाय भनेको लेख्दै, पढ्दै गर्ने नै हो । कुनै पनि विषय बढ्ने, एकपटक पुस्तक बन्द गरेर सोच्ने अनि आफ्नै शैलीमा लेख्ने । निरन्तर यस्तो अभ्यास गर्नुभयो भने तपाईंमा यो समस्या रहँदैन । धेरै परीक्षार्थी पढेर बुझियो भने परीक्षामा त लेखिहालिन्छ नि भन्ने सोच्छन् र पूर्वलेखन अभ्यास गर्दैनन । त्यसैले उनीहरू प्रश्नको उत्तर जानेर पनि राम्ररी लेख्न नकस्दा प्रतिस्पर्धामा असफल हुन्छन ।

लोकसेवा परीक्षामा सफलताका लागि आकर्षक लेखन शैली महत्त्वपूर्ण हुन्छ । यसका लागि उत्तरको निश्चित खाका र पेपर फोल्डिङ्, लाइन स्पेसिङ्, प्याराग्राफिङ्, भाषा छनोटजस्ता श्रृंगारिक पक्षहरूमा ध्यान दिनुपर्छ । उत्तरको खाका आकर्षक बनाउन प्रत्येक खण्डलाई अलग–अलग शीर्षक तथा उप–शीर्षक दिई अनुच्छेद र बुँदाको उचित संयोजन गरेर लेख्ने र अन्तिममा संक्षिप्त निष्कर्ष प्रस्तुत गर्नुपर्छ । श्रृंगारिक पक्षअन्तर्गत पेपरलाई बायाँतिर १.२५ इन्च र अरू तीनैतिर १ इन्च छोडी फोल्डिङ् गर्नुपर्छ । फोल्डिङ् गरिएको रेखाबाहिर गएर कतै पनि लेख्नु हुँदैन । लेख्दा अक्षरहरू अलि बोल्ड र ठूला हुने पेनको प्रयोग गरी नखादीकन र धेरै नदबाइकन हल्का लेख्नुपर्छ । शब्दहरूका बीचमा लाइनहरूका समान र पर्याप्त स्पेस छोड्नुपर्छ । वाक्यहरू सम्भव भएसम्म छोटा र सरल हुनुपर्छ । अनुच्छेदहरू ५ देखि ६ लाइनमा नबढ्ने गरी छोटा–छोटा लेख्नु राम्रो हुन्छ । एउट अनुच्छेद र अर्को अनुच्छेदको बीचमा लाइनहरूका बीचमा छोडेको स्पेसको दोब्बर स्पेस छोड्नु पर्छ । प्रत्येक अनुच्छेदको पहिलो वाक्य एक इन्डेन्ट भित्रबाट सुरु गर्नुपर्छ । यसले लेखाइलाई आकर्षक बनाउँछ । भाषा छनौट गर्दा विशुद्ध नेपाली वा विशुद्ध अंग्रेजी लेख्नु राम्रो हुन्छ । तर माध्यम भाषा नेपाली बनाएर बीच–बीचमा आवश्यक पर्दा अंग्रेजी शब्दहरू (तर अनावश्यक र भद्दा नदेखिने गरी) प्रयोग गर्न सकिन्छ । एउटा सिंगो खण्ड नेपालीमा र अर्को कुनै सिंगो खण्ड अंग्रेजीमा लेख्न पनि सकिन्छ । तर एउटा खण्ड पूरै एउटै भाषामा लेखेको राम्रो हुन्छ । कुनै अमूक भाषाको प्रयोगका आधारमा प्राप्त गर्ने अंकमा तलमाथि होला कि भन्ने सोच्नु भ्रम मात्र हो । जुनसुकै भाषामा लेखे पनि मूल्यांकनमा फरक पर्दैन ।

(नेपाल सरकारका सहसचिव प्रकाश दाहालसँगको कुराकानीका आधारित)