NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सिके राउत अब ‘आनन्द मैत्रय’ !

काठमाडौं । कुनैबेला देश नै टुक्र्याउने मुद्दामा लागेका डा. सिके राउतले सन्यासी रुप धारण गरेका छन् । उनी आशोको सन्यासी बनेका हुन् ।

तराईलाई अलग्गै देश बनाउन हिंसात्मक आन्दोलन गर्नेसमेत उनले चेतावनी दिने गरेका थिए । यसै मुद्दामा उनी पक्राउसमेत परे ।

तर, राउत ०७५ मा हिंसाको बाटो त्यागेर शान्ति पक्रियामा आए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्ति सम्झौता गरेका राउतले त्यसपछि जनमत पार्टी गठन गरे । स्थानीय निर्वाचनमा पनि सहभागी भए । यद्यपि, उनको पार्टीले जनकारवाहीजस्ता हिंसात्मक गतिविधि भने कायमै राखेको थियो ।

उनै राउत अहिले शान्ति खोज्दै काठमाडौंको ओशो तपोवन पुगेका छन् ।

राउत रानीवनस्थित ओशो तपोवनमा नौ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । नौ दिन ध्यान पूरा गरेपछि उनले बुधबार सन्यास धारण गरेका हुन् ।

सन्यासपछि राउतले नयाँ नाम ‘आनन्द मैत्रय’ पाएका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअभिनेत्री शोभिता सिम्खडाका साथमा राउत सेतो बस्त्र, ओशोको तस्बिर रहेको माला लगाएर ‘ग्रिन टी’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

सन्यास धारणपछि सार्वजनिक भएको तस्बिरमा उनी निकै आनन्दित देखिएका छन् ।

केही दिनअघि राउतले भोजन गरेपछि भाँडावर्तन सफा गरिहेको तस्बिर बाहिरिएको थियो ।

पहिले देश टुक्र्याउने चेतावनी, अहिले शान्ति खोज्दै तपोवन !