लोक सेवा टिप्स : स्तरीय उत्तर कसरी लेख्ने ?
लोक सेवामा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । राज्यको स्थायी शासन प्रशासन भएकाले नयाँ पुस्ता यसमा आउनु महत्त्वपूर्ण छ ।
स्थायी सेवामा प्रवेश गर्न भने विभिन्न खुड्किला पार गर्नुपर्ने हुन्छ । पहिलो हो, लोक सेवा परीक्षा ।
यो परीक्षाका सबै चरण पार गरेपछि मात्रै सेवा प्रवेश गर्न पाइन्छ । तर परीक्षा तयारी दौरान परीक्षार्थीमा द्विविधा उत्तिकै सिर्जना हुन्छन् । जसले अपेक्षित सफलता हात पार्नबाट रोकिरहेको हुन्छ ।
याे परीक्षामा परीक्षार्थीले भोग्नुपर्ने यस्तै अन्योलतालाई मध्यनजर गरेर नेपालवाचले प्रशासक, पूर्वप्रशासकसँगको सहकार्यमा त्यसकाे समाधान पहिल्याउने प्रयास थालेको छ । आजको यो श्रृंखलामा नेपाल सरकारका सहसचिव प्रकाश दाहालले स्तरीय उत्तर लेखनबारे केही ‘टिप्स’ बाँड्नु भएको छ :
उत्तरमा पृष्ठभूमि लेख्ने कि नलेख्ने ?
मिहिनेत गरेर पढेपछि परीक्षामा उत्तर दिँदा पनि त्यही अनुसार गर्नुपर्छ । उत्तर लेख्ने आ–आफ्ना शैली हुन्छन् । त्यसका केही नियम पालना गर्ने हो भने उत्तर लेख्न जानिन्छ । सामान्यतया विद्यार्थीहरू प्रश्नको उत्तरमा सिधै प्रवेश नगरी पृष्ठभूमि लेखेर बस्ने गर्छन् ।
पृष्ठभूमि वा विषय प्रवेश परीक्षाको सन्दर्भमा भद्दा श्रृंगार मात्र हो
परीक्षामा उत्तर लेख्दा विषय प्रवेश वा पृष्ठभूमि लेखिरहनु पर्दैन । प्रतियोगितात्मक परीक्षामा समय व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यसैले सिधै प्रश्नले जे मागेको छ, त्यही मात्र लेख्नुपर्छ । प्रश्नका कति खण्ड छन भन्ने पहिचान गरी प्रत्येक खण्डको छुट्टा–छुट्टै शीर्षक दिएर उत्तर लेख्नुपर्छ । धेरै परीक्षार्थीहरू मागेभन्दा बढी जानेको कुरा लेखेर समय खेर फाल्छन । उनीहरूलाई धेरै राम्रो लेखेँ भन्ने लाग्छ तर उत्तरमा प्रश्नले अपेक्षा गरेको कुरा कम र अनावश्यक कुरा बढी समेटिएको हुन्छ । पृष्ठभूमि वा विषय प्रवेश परीक्षाको सन्दर्भमा भद्दा श्रृंगार मात्र हो ।
निष्कर्ष कसरी लेख्ने ?
पहिलोपटक लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा
विद्यार्थीले गर्ने अर्को गल्ती हो, लम्बेतान निष्कर्ष लेख्नु । धेरै परीक्षार्थीले पहिले नै घोकेको र सबैमा मिल्ने निष्कर्ष लेख्ने वा तथ्यांक, उदाहरण, व्याख्या प्रस्तुत गरेर वा शब्दजाल बुनेर निष्कर्षलाई अनावश्यक लामो बनाउने गर्छन् । यसो गर्नु राम्रो होइन । निष्कर्ष समग्र उत्तरमा छरिएर प्रस्तुत भएका विचारहरूको सार हो । यसले सम्पूर्ण उत्तरमा के लेखियो भन्ने कुरालाई अन्त्यमा पुनःस्मृति गराउने हुँदा यो ज्यादै महत्त्वपूर्ण हुन्छ । निष्कर्ष उत्तर कपीमा चार लाइनभन्दा नबढ्ने गरी दुई वाक्यमा लेख्नु राम्रो हुन्छ । पहिलो वाक्यमा उत्तरको विश्लेषणात्मक खण्डको भावात्मक सार र दोस्रोमा आफ्नो मोटो सुझाव प्रस्तुत गर्नुपर्दछ ।
सान्दर्भिक उत्तरका लागि
उत्तर प्रश्नको खण्ड अनुसार अलग–अलग शीर्षकअन्तर्गत विभिन्न अनुच्छेद र वाक्यहरूमा लेखिने भएता पनि प्रत्येक खण्ड, अनुच्छेद र वाक्यहरू सिलसिलेवार र क्रमबद्ध रूपमा प्रस्तुत गरिएको हुनुपर्छ । यसका लागि एउटा अनुच्छेदमा एउटा मात्र विषयवस्तु प्रस्तुत गर्ने, नयाँ अनुच्छेदको सुरु वाक्य त्यसअघिको अनुच्छेदको भावमा टेकेर आवश्यकता अनुसार परिपूरक वा फरक मत हुने गरी लेख्ने र प्रत्येक नयाँ खण्डको शीर्षकलगत्तैको पहिलो वाक्य त्यसअघिको खण्डले समेटेको विषयवस्तुमा टेकेर सुरु गर्नुपर्छ । तर सिलसिलेवार बनाउने नाममा वाक्य, अनुच्छेद वा खण्डको सुरुवात ‘तथापि’, ‘यद्यपि’, ‘तर पनि’, ‘यहाँ जे सुकै भनिएको भए तापनि’, ‘माथिको कुरालाई मध्यनजर राख्दै’, ‘माथि गरिएको चर्चाका आधारमा’ जस्ता योजकहरूद्वारा गरिनु हुन्न । हरेक वाक्य, अनुच्छेद र खण्ड अन्तरसम्बन्धित हुँदाहुँदै पनि स्वतन्त्र र आफैंमा पूर्ण हुनुपर्छ ।
उत्तरको समीक्षाबारे
समीक्षा गर्नुहोस मात्र भनेको छ भने सुझाव दिइरहनु पर्दैन
समीक्षा गर्नुहोस् भनिएको प्रश्नमा खण्ड–खण्ड वा बुँदागत कुन शैलीमा लेख्ने भन्नेबारे पनि धेरैमा द्विविधा छ ।
सबै प्रश्नहरूमा खण्डअनुसारको शीर्षक दिई त्यसलगत्तै आवश्यकतानुसार विषयवस्तुको परिचय वा त्यससँग सम्बन्धित तथ्य–तथ्यांकका आधारमा सन्दर्भ विकास वा उत्तरमा के लेखिँदैछ भन्ने कुराको ‘कम्प्याक्ट स्टेटमेन्ट’लाई तीनदेखि चार लाइनको अनुच्छेदमा प्रस्तुत गरी अपेक्षित उत्तरलाई भने त्यसपछि बुँदागत रूपमा लेख्नुपर्दछ । समीक्षा गर्दा पनि यसै गर्ने हो । तर यसमा विद्यमान व्यवस्था, उपलब्धि र कमजोरी वा समस्या गरी तीन खण्डमा लेख्नुपर्छ । विद्यमान व्यवस्थाअन्तर्गत नीति, संस्था र कार्यक्रमहरू के छन् भनी लेख्नुपर्छ । उपलब्धिअन्तर्गत त्यस्ता नीति, संस्था र कार्यक्रमका कारण के प्रतिफल प्राप्त भयो भनी सकारात्मक उपलब्धिहरू लेख्नुपर्दछ भने कमजोरी वा समस्याअन्तर्गत त्यस्ता नीति, संस्था र कार्यक्रमका वाबजुद पनि अपेक्षित उपलब्धि हासिल नहुनुका कारणहरू लेख्नुपर्दछ । समीक्षा भनेको सकारात्मक र नकारात्मक दुवै पक्षको लेखाजोखा हो, यथार्थ अवस्थाको चित्रण हो । के गर्नुपर्छ भनी सुझाव दिने होइन । त्यसैले समीक्षा गर्नुहोस मात्र भनेको छ भने सुझाव दिइरहनु पर्दैन ।
शीर्षक आकर्षक बनाउनेबारे
उत्तर लेखनमा उपशीर्षक वा उत्तर खण्डको शीर्षक दिँदा कसरी आकर्षक बनाउने ? भन्नेबारे पनि परीक्षार्थीले ध्यान दिनुपर्छ । उत्तर लेख्दा धेरै परीक्षार्थीले सिंगो उत्तरको एउटा मूल शीर्षक दिएर पनि लेख्ने गर्छन् । यसो गर्नु जरुरी छैन । सिधै प्रश्नको खण्डअनुसार अलग–अलग शीर्षक दिएर लेख्ने हो । कहिलेकाहीँ एउटा शीर्षकअन्तर्गत उपशीर्षक पनि दिनुपर्ने हुनसक्छ । तर अनावश्यक रूपमा धेरै उपशीर्षकहरू दिनु राम्रो हुन्न । शीर्षक र उपशीर्षक दिँदा प्रश्नको खण्ड छुट्याउने कि वर्डलाई टेकेर सम्भव भएसम्म छोटो दिनुपर्छ । यो त्यसभित्र लेखिएको विषयवस्तुलाई प्रतिविम्बित गर्ने किसिमको आफैंमा अर्थपूर्ण र स्पष्ट हुनुपर्छ ।
वाक्यहरू जोड्ने सन्दर्भमा
शीर्षक वा उपशीर्षकभन्दा माथि कुनै पनि कुरा लेख्नु हुन्न । उत्तरका खण्ड जोड्ने वाक्य शीर्षक वा उपशीर्षक लेखिसकेपछि सोभन्दा मुनि मात्र लेख्नु पर्छ । अर्थात् लेखिएका सबै कुरा सम्बन्धित शीर्षक वा उपशीर्षकभित्र नै पर्नेगरी लेख्नुपर्छ ।
सिलसिलेवार बनाउने नाममा वाक्य, अनुच्छेद वा खण्डको सुरुवात ‘तथापि’, ‘यद्यपि’, ‘तर पनि’, ‘यहाँ जे सुकै भनिएको भए तापनि’, ‘माथिको कुरालाई मध्यनजर राख्दै’, ‘माथि गरिएको चर्चाका आधारमा’ जस्ता योजकहरू प्रयोग गर्न हुँदैन
उत्तरको विश्लेषण गर्दा जहिले पनि मौजुदा अवस्थाको संक्षिप्त व्याख्या गरी त्यसका सबल र दुर्बल पक्ष, अवसर तथा सम्भावना र जोखिमहरूको लेखाजोखा गर्नुपर्छ । यी चार पक्षमध्ये पनि मूलतः सबल पक्ष र दुर्बल पक्षको चिरफारमा बढी ध्यान दिनुपर्छ । अवसर र जोखिमलाई फरक–फरक अनुच्छेदमा केही वाक्यहरूमा मात्र उल्लेख गरे पुग्छ । विश्लेषण गर्दा पनि निष्कर्ष खण्डबाहेक छुट्टै सुझाव दिइरहनु पर्दैन ।
जहाँसम्म विश्लेषण गर्ने क्षमता बढाउने सवाल छ, त्यसका लागि हरेक विषयवस्तुलाई तथ्यगत र वस्तुगत दृष्टिले ‘क्रिटिकल्ली’ हेर्ने बानी विकास गर्नु आवश्यक हुन्छ । कुनै पनि कुरा पढ्दा त्यस विषयका सम्बन्धमा माथिका चारवटा पक्षहरूमा आप्mनो धारणा विकास गर्ने गर्नुपर्छ । नियमित रूपमा लेख्ने र प्रत्येक लेखाइमा म कत्तिको क्रिटिकल, तार्किक, तथ्यगत र वस्तुगत बन्न सकेँ भन्ने कुराको आफैंले मूल्यांकन गरी निरन्तर सुधार गर्दै गएमा पनि विश्लेषणात्मक क्षमता बढ्छ ।
विश्लेषण व्यक्तिको धारणा, सोच र अनुभूतिका अधारमा हुँदैन । यसका लागि स्थापित सिद्धान्त, मान्यता, अभ्यास र तथ्यगत तर्कलाई आधार लिनु पर्ने हुन्छ । त्यसैले असल विश्लेषक बन्न निश्चय पनि धैर गहिरो र बृहत् अध्ययन जरुरी हुन्छ ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान हामी यहाँहरूसमक्ष पस्किने छौं ।)
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया