NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पाँचथरमा डिसिएमसीको निर्णय : सबै सरकारी र गैह्रसरकारी कार्यालयमा मास्कको प्रयोग अनिवार्य

शंकर चापागाईँ, फिदिम । पछिल्ला दिनमा पाँचथरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जिल्लास्थित सबै सरकारी तथा गैह्रसरकारी कार्यालयमा मास्क प्रयोग अनिवार्य गरिएको छ । आज बसेको डिसिएमसीको बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लामा कोभिड १९ संक्रमण फैलन नदिन गोष्ठी, सेमिनार तथा भिडभाड हुने कार्यक्रमहरूमा मास्कको प्रयोग अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था तथा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोभिड–१९ विरुद्धको नलगाएका व्यक्तिहरूलाई खोप लगाउन अभिप्रेरित गर्दै खोप अभियान सञ्चालन गर्ने निर्णय पनि डिसिएसीको बैठकले गरेको छ । सबै स्थानीय तहहरूलाई कोभिड–१९ परीक्षण कार्य सञ्चालन गरी समुदायमा कोभिड–१९ संक्रमण फैलन नदिन सतर्कता अपनाउने, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउन तपाईँको मास्क खोइ ? अभियानका साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरू, सुरक्षा निकायहरू, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघको समन्वयमा सञ्चालन गरिने भएको छ ।

जिल्लामा कोभिड–१९ को संक्रमण फैलन सक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक सावधानीसहित रोकथाम, नियन्त्रण र विरामीहरूको उपचारको भरपर्दो व्यवस्था मिलाउन पाँचथर जिल्ला अस्पताल निजी अस्पतालहरू र सबै स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यसैगरी जिल्लाका विद्यायल सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मास्क, स्यानिटाइजर भौतिक दूरी कायम गर्ने तथा विद्यालयमा कुनै विद्यार्थीलाई संक्रमणको लक्षण देखा परेमा सुरक्षित रुपमा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।

यस्तै, कोभिड–१९ को दोस्रो लहरका बेला इलामलाई १५ थान र तेह्रथुमलाई १० थान अक्सिजन ग्यास सिलिण्डर दिइएकोमा जिल्लामा आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरी ती सिलिन्डर फिर्ता गर्न अनुरोध गरिए पनि हालसम्म फिर्ता नभएकोले पुनः फिर्ता माग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

६२० मा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु