नगदसहित पक्राउ परेका तीन सांसद भारतमा निलम्बित

काठमाडौं । नेपालका राजनीतिक दलले भ्रष्टाचार दण्डहीनतालाई अनुमोदन गरेको आरोप लागिरहेका बेला भारतमा नगदसहित पक्राउ परेका आफ्ना तीन सांसदलाई भारतीय कांग्रेसले निलम्बन गरेको छ ।
भारतीय प्रहरीले गत आइतबार झारखण्डस्थित जामताराका विधायक इरफान अन्सारी, खिजरीका राजेश कछाप र कोलेबिराका नमन बिक्सल कोङ्गारीलाई ४९ लाख भारतीय रूपैयाँसहित पक्राउ गरेको थियो ।
बिबिसी हिन्दीका अनुसार, यी तीनै जनालाई निलम्वन गरेकाे कांग्रेस झारखण्ड इन्चार्ज अविनाश पाण्डेले पत्रकारसमक्ष बताएका छन्।
विधायकबाट बरामद रकमबारे केही खुलेको छैन । अहिले प्रहरीसँगै आयकर विभागले पनि यसमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।
जामताराका विधायक इरफान अन्सारीका परिवारका सदस्यले भने फसाउन सुनियोजित षड्यन्त्र गरिएको दाबी गरेका छन् ।
विधायक इरफान अन्सारी हरेक वर्ष झारखण्ड पर्व मनाउन साडी किन्न कोलकाताको बाँडाबजार आउने गरेको र यस वर्ष पनि त्यही प्रयोजन निम्ति गएको उनीहरूको भनाइ छ ।
तर विधायकले फरक फरक बयान दिएकाे प्रहरीले बताएकाे छ ।
उनीहरूमाथि अहिले राज्य प्रहरीको सिआइडीले अहिले छानबिन गरिरहेको छ । अनुसन्धानका लागि अदालतबाट अगस्ट १० सम्मको म्याद थप गरिएको छ ।
घटना सार्वजनिकपछि ठूलो राजनीतिक तरंग उत्पन्न भएको छ । झारखण्डको हेमन्त सोरेन सरकारलाई भाजपाले अस्थिर बनाउन खोजेको आरोप कांग्रेसले लगाएको छ ।
सोरेन कांग्रेसलगायत गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
अविनाश पाण्डेले आइतबार बिजेपीले विगत केही महिनादेखि झारखण्डको निर्वाचित सोरेन नेतृत्वको सरकार अस्थिर बनाउन खोजेको आरोप लगाए ।
भाजपाले विधायकहरूलाई धम्की दिन केन्द्रीय अनुसन्धान एजेन्सीहरू नै प्रयोग गरिरहेको दाबी उनको छ ।
तर, भाजपा नेता अर्जुन मुण्डाले आफ्नो गल्ती लुकाउन अरुमाथि आधारहीन आरोप लगाउने कांग्रेसको पुरानो बानी रहेको बताए ।
प्रतिक्रिया