एमालेको आरोप : हर्क सम्पाङको अभिव्यक्तिले जातीय सद्भाव बिथोलियो

काठमाडौं । नेकपा (एमाले)ले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आफ्नो पार्टीविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएको छ ।
एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एभेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरूबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यो गैरजिम्मेवारसमेत भएको बताए ।
‘नगरप्रमुख हर्कराज साम्पाङ (राई)का पछिल्ला गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, कमिटी अध्यक्ष एभेङले मेयरको कार्यालय भएको तोडफोडकोे जिम्मेवार पनि उनै साम्पाङ भएको आरोप लगाएका छन् । पीडितले उठाएको मुद्दालाई लिएर मेयर साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएका कारण घटना भएको एमालेको ठहर छ ।
‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीको नेतृत्वमा केही सोमबार मेयर साम्पाङको कार्यालयमा तोडफोड भएको थियो । नेपालीलाई जोडेर उनले पूर्वउपमेयर मञ्जु भण्डारी र सिंगो पार्टीको बदनाम गर्न खोजेको एमालेको आरोप छ ।
दलित समूदायका संयोजक नेपालीविरुद्ध कतिपयले जातीय गाली गर्नुमा पनि मेयर साम्पाङकै अभिव्यक्तिको उपज भएको एमालेले आरोप लगाएको छ ।
उनकै अभिव्यक्तिका कारण धरानमा जातीय सद्भाव बिथोलिएको एमालेको ठहर छ ।
हेरौं विज्ञप्ति :
प्रतिक्रिया