NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कहिले घोषणा होला निर्वाचन ?

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् । कुनै नयाँ राजनीतिक घटनाक्रम नभए बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने सरकारको तयारी छ ।

निर्वाचन आयोगले गरेको सिफारिसअनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

‘निर्वाचनको मितिलाई लिएर प्रधानमन्त्रीले सरोकारवाला सबैसँग परामर्श गर्नुभएको छ । गठबन्धन दलसँग निरन्तर छलफल भइरहेको छ, प्रमुख प्रतिपक्षसँग पनि छलफल भइसकेको छ,’ प्रवक्ता महतले भने, ‘सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसक्नुभएको छ । सबैसँगको परामर्शका आधारमा एक–दुई दिनमा मिति घोषणा हुँदै छ ।’

प्रधानमन्त्री देउवाले बुधबार सत्तागठबन्धनका शीर्ष नेताको बैठकमा निर्वाचन घोषणाबारे राय लिएका छन् । शीर्ष नेताले ४ मंंसिरका लागि मिति घोषणा गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री देउवालाई उनका ज्योतिषी सुरेशचन्द्र रिजालले पनि २ वा ४ मंसिरमा निर्वाचन गर्न उत्तम हुने सुझाएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका शीर्ष नेताहरूबीच निर्वाचनको मिति घोषणालगायतका विषयमा छलफल भएको र सरकारले चाँडै नै निर्णय गर्ने बताए । ‘४ मंसिरमा नै निर्वाचनको मिति घोषणा गर्ने सहमति जुटेको छ । सरकारले उपयुक्त समयमा निर्वाचन घोषणा गर्नेछ,’ पौडेलले भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मंसिर पहिलो साताका लागि निर्वाचन तोक्नेबारे छलफल भएको र मिति घोषणाबारे सरकारले नै निर्णय लिने बताए । ‘गठबन्धनको बैठकमा मंसिर पहिलो साता निर्वाचन घोषणा गर्ने सहमति बनेको छ, मिति घोषणा सरकारले गर्छ,’ यादवले भने ।

जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले ४ मंसिरमा निर्वाचन घोषणा गर्न दलहरू सकारात्मक रहेको जानकारी दिइन् । ‘४ मंसिरमै निर्वाचन गर्ने भन्नेमा दलहरूबीच असहमति छैन,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्ले आवश्यकता हेरेर मिति घोषणा गर्नेछ ।’

सरकारका एक मन्त्रीले बिहीबार नियमित बैठक बस्न लागेको र निर्वाचनको मिति घोषणाको सम्भावना रहेको बताए । ‘बिहीबारको बैठकमा निर्वाचनको मिति घोषणाको प्रस्ताव जाँदै छ,’ ती मन्त्रीले भने, ‘अन्तिम अवस्थासम्म कुनै परिवर्तन भएन भने ४ मंसिरका लागि बिहीबार नै निर्वाचन घोषणा हुनेछ ।’

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि बिहीबार निर्वाचन घोषणा हुन सक्ने संकेत गरे । ‘बिहीबार क्याबिनेट बस्दै छ । बैठकमा निर्वाचनबारे पनि छलफल हुन सक्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी त्यसको एक सय २० दिनअगाडि नै मिति तोक्न सरकारलाई सुझाव दिएको थियो । मौजुदा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पदावधि आगामी २२ मंसिरमा पूरा हुने आयोगको निष्कर्ष छ । प्रत्येक सदस्यको निर्वाचित मितिलाई गणना गर्दा फरक–फरक मिति मान्नुपर्नेजस्तो देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पदावधि गणना गर्नु व्यावहारिक र निर्विवाद हुने आयोगको भनाइ छ । तर, निर्वाचन घोषणालगत्तै मौजुदा प्रतिनिधिसभा स्वतः भंग हुने कतिपयको मत छ ।