NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नर्भिक अस्पताल र महानगरबीच सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेशनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । आज महानगरका मेयर बालेन शाह अस्पताल पुगेर उक्त विषयमा सहमति भएसँगै तत्काल टहरा नभत्काउने भएको हो ।

सोमबार महानगरपालिकाका प्रमुख शाहले नर्भिक इन्टरनेशनल अस्पताललाई नियम विपरित निर्माण भएका घर तथा टहरा हटाउन निर्देशन दिएको थियो । अस्पतालले सरकारको जग्गा लिजमा लिई बनाइएका संरचना सरकारको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी निमार्ण भएको पाइएको भन्दै महानगरले २४ घण्टे अल्टिमेटम दिएको थियो ।

संरचना हटाउन महानगरले अल्टिमेटम दिएपछि मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरी तत्काल संरचना नहटाउने जवाफ फर्काएका थिए । साथै अस्पताल र सरकारबीच २० वर्षका लागि लिज सम्झौता भएको कागजसमेत सार्वजनिक गरेको थियो ।

नर्भिक अस्पताल र भूमि सुधार कार्यालयबीच २०६५ जेठ १ मा २० वर्षका लागि लिज सम्झौता भएको थियो । सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा नर्भिकले प्रयोग गरेवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने उल्लेख छ । उक्त भाडादर प्रत्येक वर्ष १० प्रतिशत बढ्ने पनि सम्झौतामा जनाइएको छ । उक्त सम्झौताको अवधी अझै ८ वर्ष बाँकी छ । सम्झौतामा अस्पतालले प्रत्येक वर्षको असार मसान्तसम्म भूमि सुधार कार्यालयमा उक्त जग्गाको भाडा बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सरकाले जफत गरेको सो जग्गा अस्पतालले प्रयोग गर्दा उक्त जग्गाको भौतिक अवस्था नविगारी प्रयोग गर्नुपर्ने, अस्पतालले लिएको सो जग्गा सरकारले लिन चाहेमा ३ महिनाअघि सूचना दिनुपर्ने, भाडामा लिइएको जग्गा अस्पतालले स्वास्थ्य उपचारको लागि मात्र प्रयोग गर्नुपर्ने तथा हरेक २ २ वर्षमा भाडा पुनरावलोकन हुने उक्त पत्रमा उल्लेख गरिएको छ ।