NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

खाडीका तारे होटलको रोजाइमा नेपाली कामदार

काठमाडौँ — लमजुङका उमेश वाइबा मंगलबार राजधानीको याक एन्ड यती होटलमा अन्तर्वार्ता दिन पुगे । याक एन्ड यतीमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित द रोयल एटलान्टिज रिसोर्ट एन्ड रेसिडेन्सले आफूलाई चाहिने कामदारको छनोट गर्न अन्तिम अन्तर्वार्ता लिइरहेको थियो । विश्वकै ‘अल्टा–लक्जरियस’ रिसोर्टका रूपमा चिनिएको दी रोयलको व्यवस्थापन पक्षको उच्च अधिकृतहरू आफैं कामदार छनोट गर्न काठमाडौं आइपुगेका थिए ।

अन्तिम छनोटको अन्तर्वार्ताका लागि उमेशसहित ४ सय ३० जना छानिए । यो रिसोर्टका लागि कामदार भर्नाको जिम्मेवारी पाएको भिजन एन्ड भ्यालु म्यानपावरले २५ सय जनाबाट उनीहरूलाई छानेको थियो । रिसोर्टले ‘हाउसकिपिङ, रुम सर्भिस, फ्रन्ट अफिस र म्यानेजमेन्ट ट्रेनी’ का लागि कामदार लैजान लागेको हो । रोयलले एक महिनाअघि मात्र १ सय ४३ जना नेपाली कामदार छनोट गरेको थियो । आफूहरूलाई चाहिने जनशक्ति उपलब्ध भएको भन्दै रोयल दोस्रो पटक पनि नेपाल आएको हो ।

‘म चार वर्षअघि कुवेतस्थित होटलमा सेफको काम गर्न गएको थिएँ । कोभिडको महामारीपछि फर्केर घरमै बसेको थिएँ । दुबईको राम्रो अवसर छ भन्ने थाहा पाएपछि सिधै म्यानपावर गएँ,’ उनले भने, ‘मैले अहिलेसम्म यस्तो व्यवस्थित र पारदर्शी अन्तर्वार्तामा सहभागी हुने अवसर जुरेको थिएन । योभन्दा अगाडि कुवेत जाँदा धेरै हन्डर र सास्ती बेहोर्नुपरेको थियो ।

अन्तर्वार्ता लिनुअघि एक घण्टाजति कम्पनीबारे औपचारिक जानकारी गराइएको उनले बताए । ‘हामीले पाउने न्यूनतम तलब, सेवा सुविधा, खाने, बस्ने अवस्था, कामको प्रकृति र लागत शुल्कको विषयमा पूर्ण जानकारी दिइएको थियो,’ उनले भने । अन्तर्वार्ता दिन आएकाहरूलाई वातानुकूलित हलमा राखिएको थियो । त्यही नै खानाको समेत व्यवस्थापन गरिएको थियो । अन्तर्वार्ता प्रक्रियाको सम्पूर्ण रोयलले नै बेहोरेको थियो ।

रिसोर्टले मासिक ६० हजार रुपैयाँदेखि चार लाख रुपैयाँसम्म तलब सुविधा दिने गरी कामदार छनोट गरेको छ । रिसोर्टले म्यानपावर कम्पनीको सेवा शुल्क पनि आफैंले भुक्तानी गरेको छ । रोयलले छनोट भएका कामदारले कुनै शीर्षकमा पनि खर्च भुक्तानी गर्न नपर्ने पनि जनाएको छ । ‘कामदारको हवाई यातायात, भिसा शुल्कदेखि श्रममा लाग्ने सबै शुल्क कम्पनीले नै बेहोर्छ,’ रोयलको मानव संसाधनका प्रतिनिधिले भने, ‘हामीले भर्ना प्रक्रियामा आईएलओको मापदण्डलाई शतप्रतिशत पालना गरेका छौं ।’

डेढ महिना अगाडि कुवेतस्थित ग्रान्ड हायत होटलले पनि शून्य लागतमा कामदार भर्ना गरेको थियो । ‘ग्रान्ड हायतले ४३ जना नेपालीलाई छनोट गरेको थियो । त्यसमध्ये अधिकांश साथीहरू आइपुगेका छन् । केही साथीहरू आउने प्रक्रियामा छन्,’ कुवेत पुगेका अनिमेश गुरुङले कान्तिपुरलाई भने, ‘हामीले कुवेत आउन कुनै सेवा शुल्क तिर्नुपरेको छैन । अन्तर्वार्ता लिने बेला कम्पनीले भनेका सबै तलब तथा सेवा सुविधाहरू पूरा छ । करारपत्रमा फेरबदल छैन ।’

खाडीस्थित नेपाली दूतावासहरूका अनुसार पछिल्लो समयमा खाडीका अन्तर्राष्ट्रिय ब्रान्डका होटल तथा रिसोर्टको रोजाइमा नेपालीहरू पर्न थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो आप्रवासन प्रतिवेदनअनुसार वैदेशिक रोजगार गएको मध्ये १८ प्रतिशत होटल क्षेत्रसहित सेवा र बिक्री गर्ने काममा संलग्न छन् । त्यसमा सबैभन्दा बढी कुक, वेटर र हाउसकिपिङमा जानेहरू छन् । सेफमा मात्रै ४ हजार ५ सय ३१ जना गएका छन् । जसमा यूएई १ हजार ५४, कतार ६९६, कुवेत ४४१, साउदी अरब ३७५, ओमन ३२८ र अन्य देशमा १६ सय ३७ जना गएका छन् । यसबाहेक वेटर र वेटर्समा ६४ सय जना गएका छन् । जसमध्ये सबैभन्दा बढी यूएईमा १९ सय १५, साउदी अरबमा १३ सय ५८, कतार १ हजार ४४, कुवेत ९८३, माल्टा २३६ र अन्य देशमा ८६४ जना रहेका छन् । यी पाँचतारेसहित अन्य रेस्टुरेन्टहरूमा पनि कार्यरत छन् ।

‘पाँचतारे होटलहरूले नेपाली कामदारलाई प्राथमिकता दिइरहेको भेटिन्छ । कमाइ र कामको प्रकृतिको हिसाबले यो नेपाली कामदारको लागि महत्त्वपूर्ण अवसर हो,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले भने, ‘अन्य क्षेत्रभन्दा यो क्षेत्रमा तुलनात्मक हिसाबले राम्रो देखिन्छ । करारपत्र पनि फरक–फरक छैन । कामदारहरू पनि सन्तुष्ट नै देखिन्छ । उनीहरूले समस्या छ भनेर दूतावासमा कुनै उजुरीसमेत दिन आएको छैन ।’

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार पछिल्ला वर्षहरूमा पाँचतारे होटलहरूमा नेपालीको प्रवेश क्रमिक रूपले बढ्न थालेको छ । ‘सन् २००९ तिर होटल क्षेत्रका कामदार पठाउन मार्केटिङमा जाँदा होटलका व्यवस्थापकहरूले नेपालीले होटलमा काम गर्छ भन्ने विश्वास नै गर्दैनथे । नेपाली अंग्रेजी बोल्न पनि जान्दैन । तल्लो लेबर मात्रै हो भन्ने उनीहरूको अपूरो बुझाइ थियो । नेपालीको परम्परा नै आतिथ्य संस्कारसँग जोडिएको छ भनेर उनीहरूलाई बुझाउन धेरै समय लाग्यो,’ भिजन एन्ड भ्यालुका प्रबन्ध निर्देशक पदमराज पौडेलले भने, ‘अहिले होटल व्यवस्थापकले नेपालीहरू हृदयदेखि नै सेवा गर्छन् है भनेर बुझ्न थाले । राम्रा होटलहरू नेपाली खोज्न नेपाल आउन थालेका छन् । कमाइ, सुरक्षा र मर्यादाको हिसाबले होटल क्षेत्र आकर्षक बन्दै छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।