NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

शीतलनिवासअगाडि यसरी टर्यो गम्भीर दुर्घटना

न्यायका लागि भन्दै वसन्तपुरमा आमरण अनशनमा रहेकी निहारिका राजपुतले शुक्रबार बिहान करिब १० बजे महिला अधिकारकर्मी ज्यास्मिन ओझालाई फोन गरेर भनेकी थिइन्, ‘दिदी, म मर्नलाई आज राष्ट्रपति कार्यालय जाँदै छु ।’ काखमा २३ महिनाको दुधेबालक च्यापेर दोस्रोपल्ट आमरण अनशनमा बसिरहेकी राजपुतको फोनले अधिकारकर्मी ओझालाई झस्कायो ।

ओझाले ‘त्यस्तो गर्दै नगर्न’ सुझाइन् । र, सम्भावित दुर्घटनातर्फ उनी सचेत भइन् । र, आफूले चिनेको एक प्रहरी अधिकारीलाई खबर गरिन् । यस्तै प्रकृतिका अरू एक–दुई सूचना प्रहरीलाई अन्य स्रोतबाट पनि आइसकेका थिए । एक सञ्चारकर्मीले पनि राजपुतको योजनाबारे प्रहरीलाई खबर गरेर सतर्कता अपनाउन भनेका थिए ।

संवेदनशील स्थानमा संवेदनशील दुर्घटना हुन सक्ने सूचना पाएपछि प्रहरीले आफ्नो ‘अप्रेसन’ सुरु गर्‍यो । राष्ट्रपति कार्यालयआसपास सुरक्षा व्यवस्था कडा पारियो । डिएसपीको नेतृत्वमा दुइटा टोली त्यस क्षेत्रमा खटिए ।

वसन्तपुरमा जहाँ राजपुत आमरण अनशनमा थिइन्, त्यहाँ सधैँ प्रहरी हुन्थे । त्यसैले उनी सजिलै राष्ट्रपति कार्यालयतिर जान्छिन् भन्ने प्रहरीलाई लागेको थिएन । यता आफ्नो पूर्वनिर्धारित योजनाअनुसार राजपुत उपयुक्त समयको खोजीमा थिइन् ।

शुक्रबार वसन्तपुर क्षेत्रमा अरू कार्यक्रम पनि थिए, जसका कारण प्रहरीको दौडधुप बढी थियो । गाईजात्राका कार्यक्रम वसन्तपुरमा भइरहेका थिए । उता ब्लु डायमन्ड सोसाइटीले टुँडिखेलमा गाईजात्रा विशेष कार्यक्रम राखेको थियो । दिउँसोे १:३० बजे ठमेलको कर्मचारी सञ्चयकोषबाट क्षेत्रपाटी, वसन्तपुर डबली हुँदै टुँडिखेलसम्म र्‍याली गर्ने र त्यसपछि कन्सर्ट गर्ने कार्यक्रम थियो । कार्यक्रममा अमेरिकी राजदूत पनि सहभागी हुँदै थिए, जसका कारण प्रहरीको विशेष ध्यान थियो ।

प्रहरी वृत्त जनसेवाका एक प्रहरी अधिकृतका अनुसार र्‍याली वसन्तपुरतिर आइरहेकै वेला निहारिका प्रहरीलाई छलेर अनशनस्थलबाट गायब भइन् । तत्काल प्रहरीले खोज्यो पनि । तर, मोबाइल स्विचअफ भइसकेकाले लोकेसन ‘ट्रयाक’ हुन सकेन ।

प्रहरी छलेर निस्केकी निहारिका बच्चा र एक साथीसहित सुटुक्कै ट्याक्सी चढिन् । उनले बाटैमै एक लिटर पेट्रोल र लाइटर पनि किनिन् । आफूले चाल्ने कदमबारे प्रहरीलाई सूचना छ भन्ने राजपुतलाई लागेको थियो । त्यसैले प्रहरीलाई झुक्याउन उनले साथी र बच्चालाई राष्ट्रपति कार्यालयभन्दा अलि वरै ओरालिन् ।

करिब ३ बजेतिर राष्ट्रपति कार्यालयआसपास प्रहरीको टोली देखेपछि मूल गेटभन्दा थोरै अगाडि सिआइबी कार्यालयनजिकै ट्याक्सी रोकिन् । ट्याक्सीबाट ओर्लिनासाथ उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन थालिन् । तर, तैनाथ अवस्थामा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनले लाइटर जलाउनै पाइनन् । प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी अंगुर जिसीका अनुसार निहारिकालाई शरीरमा पेट्रोल खन्याइरहेको अवस्थामा उद्धार गरिएको हो । ‘त्यसपछि सुरुमा महाराजगन्ज वृत्तमा लिएर आयौँ,’ डिएसपी जिसीले भने, ‘वृत्तमा ल्याउनासाथ बान्ता गर्न थालिन् । लगत्तै त्रिवि शिक्षण अस्पताल पुर्‍यायौँ । अहिले अवस्था सामान्य नै छ ।’

सरकारले आफ्नो माग बेवास्ता गरेको भन्दै उनले शुक्रबार दिउँसो महाराजगन्जस्थित राष्ट्रपति भवनअगाडि पुगेर आफैँलाई आगो लगाउने प्रयास गरेकी थिइन् । वसन्तपुरमा प्रहरी चुके पनि महाराजगन्ज प्रहरीको सतर्कताले न्यायको लडाइँ लडिरहेकी निहारिकाको आत्मदाह गर्ने प्रयास असफल भएको छ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली शुक्रबार मात्रै निहारिकालाई भेट्न वसन्तपुर पुगेकी थिइन् । त्यही वेला उनी शीतलनिवासतिर निस्केकी थिइन् । लगत्तै उनले आत्मदहको प्रयास गरेको पराजुलीले सुनिन् । अध्यक्ष पराजुलीले निहारिकाको मुद्दामा आफूहरूले मिल्नेसम्मको प्रयास गरिरहेको बताइन् । ‘पीडितको आरोपअनुसार संवेदनशील मुद्दा हो । यति संवेदनशील मुद्दामा सहमति गरेर अनशन तोडाइसकेपछि कम्तीमा अदालतबाट फेरि पेसी सार्ने अवस्था आउनुहुन्थेन,’ उनले भनिन्, ‘मुद्दाको संवेदनशीलताप्रति सरकार सचेत हुन नसक्दा आज यस्तो अवस्था आयो ।’

नेपाल बार एसोसिएसनकी महासचिव अन्जिता खनालले पीडितले न्याय पाइनँ भनेर राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास गर्नु गम्भीर विषय भएको बताइन् । ‘शीतलनिवासअगाडि एउटा पीडितले आत्मदाहको प्रयास गर्नु एकदमै दुःखद कुरा हो । एउटा मान्छे न्याय माग्दामाग्दै न्याय पाउन नसकेर यो अवस्थामा आउनु साँच्चै डरलाग्दो विषय हो,’ उनले भनिन्, ‘घटनाले समग्र न्याय प्रणालीमाथि गम्भीर प्रश्न गर्छ । यसले न्यायालय, न्यायसँग जोडिएका व्यक्ति, संघसंस्था सबैलाई गिज्याएको छ । न्याय नपाउँदा एउटा मान्छे आफ्नो शरीर त्याग गर्ने अवस्थासम्म पुग्न सक्छ, यो घटनाले पक्कै हाम्रो न्याय प्रणालीलाई झस्काउँछ ।’

उनले निहारिकाको केस बाहिरिएपछि आफूले यसबारे विस्तृत अध्ययन गरेको र न्याय माग्ने तरिका अलि फरक भएजस्तो देखिएको बताइन् । ‘अलिकति विचलन भएको र बहकिएजस्तो देखिन्छ । जुन बाटोबाट न्यायका लागि लड्नुपर्ने थियो, त्यहाँ नहिँडेको पो हो कि ! उचित परामर्शको अभावले पनि यस्तो भएको हुन सक्छ,’ महासचिव खनालले भनिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।