नारायणगढ-मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिरोले सडक अवरुद्ध

काठमाडौं । नारायणगढ- मुग्लिन सडकमा शाखा सडकबाट आएको पहिरोका कारण ठाउँठाउँमा मुख्य सडक अवरुद्ध भइरहेको छ । मुख्य सडकसँग जोडिने गरी वा त्योभन्दा माथिल्लो भागमा स्थानीय तह तथा प्रदेश सरकारले शाखा सडक खन्ने गरेका छन् । स्थानीयस्तरमा प्रयोगका लागि बनाइएका ती सडक खन्दा आएको पहिराले मुख्य सडक अवरुद्ध हुने गरेको हो । राष्ट्रिय राजमार्ग जोडेर शाखा सडक बनाउँदा कुनै समन्वय नहुने सडक विभागले जनाएको छ ।
मुख्य सडकभन्दा झण्डै दुई सय ५० मिटर माथिबाट पहिरो खस्दा मौरी खोला पुलमा पुरिएर पटकपटक सडक अवरुद्ध भइरहेको छ । यो वर्षाका कारणले नारायणगढ–मुग्लिन सडकमा ठाउँठाउँमा सडक अवरुद्ध भइरहेको छ । अहिले मौरी खोला पुल र अरु दुई–तीन स्थानका सडकमा बाढी र पहिराका कारण पटकपटक सडक अवरुद्ध भइरहेको सडक विभागले जनाएको छ । नारायणगढ–मुग्लिन सडकमा मौरी खोला पुल र अरु दुई–तीन ठाउँमा मात्रै यस वर्ष सडक अवरुद्ध हुने समस्या भइरहेको छ ।
मौरी खोलामा झण्डै तीन–चार सय मिटर माथिबाट पहिरोले ढुंगा, गेग्रान ल्याउँदा पुल पुरिएको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । पहिरोले पुल पुरिँदा सडक पटकपटक अवरुद्ध भइरहेको र विभागले खुलाइरहेको उनले बताए ।
मौरी खोला पुलभन्दा माथिल्लो भागमा एउटा कच्ची सडक निर्माण हुँदा त्यसका कारण यस वर्ष पुलमा बढी असर पुगेको उनले बताए । सो शाखा सडक आठ÷दश वर्ष पहिले निर्माण सुरु भएको थियो । त्यो सडकका कारण अझै बढी गेग्रान आइरहेको उनले जानकारी दिए । पहिले स्थानीय सडक भए पनि यस वर्ष सडकलाई निर्वाचन क्षेत्र सडकमा पारेपछि अब विभागको कार्यक्षेत्रमा परेको उनको भनाइ छ । उनले भने, ‘सडकका कारण यस वर्ष पहिरो बढ्न गएको हो ।’
विसं २०६० मा पनि सो स्थानमा पहिरो आएकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा ड्याम निर्माण गरिएको थियो । त्यसमा गत वर्ष क्षति भएपछि विभागले मर्मत गरे पनि यस वर्ष पहिराले पूर्णरुपमा पुरेको छ । माटो हटाएर पुल सफा गरिरहेको महानिर्देशक थापाले बताए । पहिरो खुलाउन सो स्थानमा पहिले तीन उपकरण राखिएकामा अहिले एक थप गरिएको उनले बताए । उनले भने, ‘पहिराको जानकारी प्रहरी, स्थानीयवासी कसैले देखेमा लोडर वा स्काभेटर अपरेटरलाई दिँदा तत्काल पहिरो हटाउन सुरु गरिँदै आएको छ ।’
गत वर्ष वर्षाको समयमा धेरै ठाउँमा सडक अवरुद्ध हुने गरेको थियो । अहिले बाढी र पहिराका कारण हुने क्षतिको न्यूनीकरणका लागि विभिन्न संरचना बनाइएको सडक विभागले जनाएको छ । गत वर्षमा भित्ता काटेर पहिरो नियन्त्रणका लागि बनाइएको संरचना, नदीले कटान नगरोस् भनी निर्माण भएका पाइल र ठाउँठाउँमा वृक्षरोपण गर्दा पहिराको जोखिम केही कम भएको विभागका महानिर्देशक थापाले बताए ।
सडकको भित्ता काटेपछि ठाउँठाउँमा विभिन्न प्रविधि प्रयोग गरेर बलियो बनाइएको उनले बताए । भित्ताभरि प्वाल पारेर छ–आठ मिटर लम्बाइको रड छिराएर त्यसमाथि जाली लगाइ त्यसलाई स्थिर बनाइएको हो । ती संरचना निर्माण गरिएको स्थानमा अहिले पहिरो नगएको उनले बताए ।
उनले भने, ‘ठाउँठाउँमा त्यो अहिले पनि देख्न सकिन्छ, कतै भने घाँस उम्रिसकेको छ ।’ सो सडकमा गत वर्षमा नारायणी नदीले तलबाट तानेर सडक भत्कने गरेको महानिर्देशक थापाले बताए । अहिले ठाउँठाउँमा कंक्रिट ब्लक राखिएको छ । नारायणी किनारमा १७ किमीमा पाइल राखिएको उनले बताए ।
सडकमा खाल्डा हुँदा माटो, ग्राभेलले पुर्ने र पकाएर राखेको अलकत्राले टाल्ने गरिएको छ । तीन/चार महिना पहिलेदेखि अलकत्रा पकाएर बोरामा राखिने गरिएको महानिर्देशक थापाले जानकारी दिए । विशेष केमिकलमा नयाँ प्रविधि प्रयोग गरेर पकाइएको अलकत्रा बोरामा राख्न मिल्ने र जहाँ खाल्डा भयो उक्त ठाउँमा टालिने उनले बताए । उनले भने, ‘धेरै बिग्रिएमा गर्न गाह्रो भए पनि ससाना खाल्डामा सकिन्छ । ’
स्थानीयस्तरमा जतासुकै शाखा सडक खोल्दा पहिरो आउँदा राजमार्ग अवरुद्ध हुने अवस्था आइरहेको महानिर्देशक थापाले बताए । पहिरो पन्छाउन पनि नजिकै विद्युत् र टेलिफोनको लाइन हुँदा समस्या रहेको उनले बताए ।तार र खम्बा सडकभन्दा केही टाढा नभएर मुख्य सडकमै हुँदा डोजर, लोडर र स्काभेटर चलाउन नसकिने अवस्था रहेको छ । उनले भने, ‘नाङ्गो तारमा मेसिनले छुँदा पनि जोखिम छ ।’
अहिले पहिरो पन्छाउनभन्दा पनि जाम खुल्न बढी समय लाग्ने गरेको छ । सडकको अवरोध पन्छाएर खुलेपछि गाडी आठ÷नौ घण्टा रोकिनुपर्ने अवस्था रहेको महानिर्देशक थापाले बताए । तीन÷चार घण्टामा सडक खुले पनि अगाडि जाने गाडीको तछाडमछाडले गर्दा त्यो क्षेत्रमा जाम हट्न आठ÷नौ घण्टा लाग्ने गरेको उनले बताए । उनले भने, ‘हामीले भनेपछि गृह मन्त्रालयबाट लेन अनुशासन कायम गराउन निर्देशन भए पनि पूर्णरुपमा पालना भइसकेको छैन ।’
विगतका वर्षमा विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकमा हाल पुल निर्माणको काम भइरहेको छ । विगतमा कम चौडाइका पुल रहेकामा तिनलाई सडक जतिकै चौडाइ कायम गर्न पुरानो पुल भएको ठाउँसँगै नयाँ पुल निर्माण भइरहेको छ । सरकारले मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक विस्तारसमेत अघि बढाइरहेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया