NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पशुपन्छी विधेयकले किचलाे, चिकित्सक आन्दोलनमा, प्राविधिक बचाउमा

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई लिएर पशु चिकित्सक र पशु प्राविधिक दुई ध्रुवमा विभाजित बनेका छन् । प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै पशुपन्छी चिकित्सकहरूको संस्था नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) यसको खारेजीको माग राख्दै संघर्षमा उत्रिएको छ भने  पशु प्राविधिक बचाउमा लागेका छन् ।

संसदीय समितिमा विधेयकमाथिको छलफल सुरु भएलगत्तै एनभिएले विधेयक एकपक्षीय, सतही र हचुवाका भरमा ल्याइएको दाबी गर्दै संशोधन माग गरेको थियो । तर नेभ्लालगायत केही पशु प्राविधिक संगठन भने विधेयकमा समेटिएका प्रावधान उचित भएको जिकिर गर्दै त्यसको समर्थनमा उत्रिएका थिए ।

विरोधका बाबजुद प्रतिनिधिसभाबाट उक्त विधेयक हालै पारित भएकाे छ । विधेयक अघि बढेसँगै यी दुई संगठन पुनः आमनेसामने भएका छन् । एउटाले विधेयक फिर्ताका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरिरहँदा अर्को त्यसलाई निस्तेज पार्ने रणानीतिमा छ ।

एनभिएले पारित विधेयकको विरोधमा एक साता लामो संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु संघर्ष कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि सेवा ठप्प पार्नेसम्म छन् । एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ आफूहरूको चासोप्रति बेवास्ता गर्दै विधेयक अघि बढाइएकाले बाध्य भएर संघर्षका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताउँछन् ।

विधेयकलाई लिएर असन्तुष्ट बनेको एनभिएको नेतृत्वले योबीचमा केही अराजनीतिक टिप्पणीसमेत गरेको छ ।

एनभिएका अध्यक्ष श्रेष्ठले बिहीबार साँझ आफ्ना सबै सदस्यलाई काठमाडौं आउन अपिल गरेका छन् । जसमा उनले पशुपन्छी प्राविधिकलाई ‘भिजिलान्ते’ भनेका छन् ।

घोषित आन्दोलनमा साथ दिन अपिल गर्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्– हामीले जस्तोसुकै परिस्थितिको पनि डटेर र भिजेलान्तेहरूबाट जोगिएर यो घोषित आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्नेछ ।’

प्रतिनिधिसभाबाट पारित विधेयकविरुद्ध एनभिएले संघर्षका कार्यक्रम अघि बढाइरहँदा नेभ्ला भने खुलेरै विधेयकको प्रतिरक्षामा उत्रिएको छ । विधेयक पारित गर्न भूमिका खेल्ने कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलगायतलाई धन्यवाद ज्ञापन गरेको नेभ्लाले एनभिएको नाम उल्लेख नगरी घुमाउरो भाषामा उसलाई उच्छृंखल समूहको संज्ञा दिएको छ । यति मात्रै होइन, उसले पशु चिकित्सकको संस्थालाई किसानको हितमा काम नगर्ने तत्व भएको संगीन आरोपसमेत लगाएको छ । थपमा उसले एनभिएको संलग्नतामा अत्यावश्यक सेवा बन्द गरिएकाले कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

‘प्रतिनिधिसभाबाट विधेयक पारित भएको अवस्थाबाट अत्तालिएर किसानको हितमा काम नगर्ने केही निहीत स्वार्थ बोकेका उच्छृंखल समूहबाट विधेयक फिर्ता गराउन विरोधका कार्यक्रम सञ्चालन गरिने जानकारी प्राप्त भएकाले यस्ता उच्छृंखल समूहबाट हुने अराजक गतिविधिहरूको हामी घोर भत्र्सना गर्दछौं,’ नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भेटेरिनरी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले बन्द, हड्तालजस्ता कार्य गर्ने उच्छृंखल समूहलाई कडाभन्दा कडा कानूनी कारबाहीका लागि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

एनभिएले सेवा प्रभावित गर्ने गरी आन्दोलन थालेपछि नेभ्लाले त्यसलाई रोक्न मातहतका संगठनलाई निर्देशन दिएको छ । सातवटै प्रादेशिक समिति, ७७ वटै जिल्ला कार्यसमिति, ७५३ वटै स्थानीय तह कार्यसमिति तथा सदस्यहरूलाई सर्कुलर गर्दै नेभ्लाले विधेयकको विरोधमा घोषणा गरिएको कार्यक्रमबाट विचलित नभई निरन्तर प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

‘विधेयक फिर्ता गराउने गतिविधिहरूबाट विचलित नभई कृषकको सेवामा निरन्तर प्रभावकारी रूपमा सेवा प्रवाह हुनेगरी आफ्ना क्रियाकलापहरू सञ्चालन गर्न सम्पूर्ण पशु प्राविधिक मित्रहरूलाई हार्दिक आह्वान गर्दछौं,’ नेभ्लाको सर्कुलरमा भनिएको छ ।