NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप बढ्दै

कैलाली । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको संख्या बढेको पाइएको छ ।

टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन ६ दिन लाग्यो । ज्वरो सन्चो भए पनि खोकी एक साताभन्दा बढी समयसम्म रहयो । बच्चासँगै आमा र घरका अन्य सदस्यलाई पनि रुघाखोकी र ज्वरोले सतायो । ‘परिवारका सबैलाई च्याप्यो, रुघाखोकी र ज्वरोका कारण बच्चालाई एक साता विद्यालय पठाएनौँ’, विकले भने ।

टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका छन् । परिवारका पूरै सदस्य बिरामी भएको पाइएको सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताउँछिन् । ‘विगतमा दैनिक ३५ जनासम्म बिरामी आउँथे, हाल दैनिक ६० बिरामीको उपचार गर्नुपरिरहेको छ’, उनी भन्छिन् । ‘बिरामी एकै घरका बच्चादेखि वृद्धसम्म रहेका छन् ।’

यस्तै मनिकापुर सहरी स्वास्थ केन्द्रमा पनि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । स्वास्थ्यकर्मी कविता खड्काका अनुसार विगतका तुलनामा बिरामी बढी आउने गरेका छन् । ‘बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण छन्’ उनले खोप लगाइसकेका छौँ भनेर उनीहरु ढुक्क भएको बताइन् ।

सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउँछन् । ‘विगतभन्दा दोब्बर बिरामी बढेका छन् । सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या छ’, उनले भने, बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन स्वास्थ्यकर्मीले सुझाव दिने गरेका छन् ।

धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए । । ‘बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्’ , उनले भने । टीकापुर अस्पतालका डा संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही स्क्रब टाइफसका लक्षण भएका बिरामी आउने गरेका बताउँछन् ।

‘बिरामी बढेका छन्, सबैमा एकनास लक्षण छन्’, उनले भने । कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न तथा शंका लागेमा कोभिड परीक्षण गर्न तथा उपचारमा ध्यान दिन आग्रहसमेत गरेको छ ।