NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अध्यक्ष लम्सालमाथि ट्राफिक प्रहरीद्वारा दुर्व्यवहार भएको भन्दै छानबिन गरी कारबाही गर्न युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले आफ्ना अध्यक्ष शिव लम्सालमाथि ट्राफिक प्रहरीले घरमै पुगेर दुर्व्यवहार गरेको भन्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले नियोजित रुपमा दुर्व्यवहार गरेको भन्दै छानबिनको माग गरेका हुन् ।

‘नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालमाथि मिति २०७९।४।३१ गते साँझ ट्राफिक प्रहरीले गरेको दुव्र्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष लम्सालको नियोजित रुपमा मानमर्दन गर्ने गरी वास्तविक घटनालाई अतिरन्जित गरेर भ्रम सृजना गर्न खोजिएकोप्रति युनियन खेद व्यक्त गर्दछ । काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आउनु भएका अध्यक्ष लम्सालको निजी निवासमा छिरेर ट्राफिक प्रहरीले नियोजित रुपमा गरेको दुर्व्यवहार निन्दनीय छ’ विज्ञप्तिमा उल्लेख छ, ‘लम्सालको घर नजिकै रेष्टुरेन्ट अघि पार्किङ गरिएका सवारी साधनले सडकमा पुर्याएको अवरोध हटाउँदा रेष्टुरेन्ट सन्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानित हुने व्यवहार गरेको हो । लम्सालको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुर्व्यवहार गरेको घटनाका बारेमा सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ ।’

सामाजिक संजालमा आएको भिडियोमा लम्सालसँग ट्राफिक प्रहरीले घरमै पुगेर रक्सी खाएर हल्ला आरोप लगाइरहेको देख्न सकिन्छ । तर उनले भिडियो नखिच्न आग्रह गरेको सुनिन्छ । अनुमति नलिइ ट्राफिक प्रहरी घरमा जाने, नियोजित रुपमा भिडियो खिच्ने र सार्वजनिक गर्ने काम भएको भन्दै व्यक्तिगत स्वतन्त्रताको हनन हुने गरी सामाजिक संजालमा प्रचार गरिएकोले युनियनको छानबिनको माग गरेको जनाएकाे छ ।