NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भरतपुरमा आयुर्वेदिक अस्पतालको निमार्ण प्रक्रिया सुरु

चितवन । मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शैयाको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप अस्पताल बनाउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार उक्त भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ । कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि ५५ करोड रुपैयाँको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ ।

कार्यालयले नक्शाकंनको काम अघि बढाइसकेको र तीन/चार महिनामा नक्शा बनाएर निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ । राष्ट्रिय भवन संहिताअनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम आधुनिक र आकर्षक अस्पताल भवन बनाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीलगयात वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्ने गरी अस्पताल बनाउन लागिएको बताइन् । नेपालमा काठमाडौंको नरदेवीमा एक सय शैया र सुदूरपश्चिममा ५० शैयाको अस्पताल सञ्चालनमा छन् ।

सोही ठाउँमा ३०० शैयाको शिक्षण अस्पतालसमेत बन्दै छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदिक अस्पताललाई आवश्यक जग्गा उपलव्ध गराइसकिएको बताइन । ‘जिल्लामा अन्य उपचारसँगै आयुर्वेद उपचारमा यो अस्पताल महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ’, उनले भनिन् ।

‘सरकारी र निजी स्वास्थ्य संस्था स्थापना र प्रवद्र्धनका लागि महानगरपालिकाले भूमिका निर्वाह गर्दै आएको र केही वर्षभित्रै भरतपुर देशभरका बिरामीको उपचारको केन्द्र बन्दै छ । दाहालले भनिन् । ‘भरतपुर अन्य क्षेत्रसँगै स्वास्थ्य पर्यटनको केन्द्र बन्दैछ । यसको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको छ ।’ अहिले क्यान्सर अस्पतालले देशैभरका बिरामीलाई सेवा दिएको र शिक्षण अस्पताल बनेसँगै सोही अनुरुपमा देशभरका शिक्षकले सेवा पाउने अपेक्षा गरिएको छ ।

भरतपुरमा संघीय भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज, २४ भन्दा बढी साना ठूला अस्पताल, आँखा अस्पताल, औषधि उद्योग सञ्चालनमा छन् । निजी क्षेत्रका दुईवटा क्यान्सर अस्पताल, शिक्षण अस्पताललगायत निर्माणको प्रक्रियामा रहेका छन् । राजधानी बाहिर सबैभन्दा बढी स्वास्थ्य सेवा दिने ठाउँको रुपमा भरतपुरलाई लिने गरिन्छ ।