NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

ट्राफिक स्वयंसेवकलाई क्याप हस्तान्तरण

काठमाडाैं । ट्राफिक स्वयंसेवक क्याप हस्तान्तरण तथा ट्राफिक स्वयंमसेवक परिचालन कार्यक्रम बिहीबार सोह्रखुट्टेस्थित नेपाल ब्यान्केटमा सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

छाया नेपालको सहयोगमा प्राप्त २ सय ५० थान ट्राफिक स्वयंसेवक क्याप प्रहरी नायब महानिरीक्षक चौधरीले नेपाल स्काउटलाई हस्तान्तरण गरेर ट्राफिक स्वयम सेवक परिचालनको सुरुवात गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल स्काउट सिद्धिगणेश रोभर रेन्जर क्र्युको समन्वय तथा छाया नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा स्वेत सदन स्कूल एण्ड कलेज सामाखुशी, प्रगति बोर्डिङ हाई स्कूल बालाजु, इलिक्स स्कूल बहती पोखरी, ज्ञान मन्दिर सेकेण्डरी ई स्कूल, गण्डकी पब्लिक स्कूल, हिम रश्मी हाई स्कूल, अमृत सेकेण्डरी स्कूल, युनिक रेञ्जर रोभर क्र्यु र सिद्धि गणेश माध्यामिक विद्यालय समेत गरी ९ विद्यालयका करिब ४ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, प्रहरी नायव महानिरीक्षक चौधरीले उमेरको आधारमा हेर्ने हो भने सबै भन्दा बढी दुर्घटनामा १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति पर्ने कुरा उल्लेख गरे । साथै उनले सवारी चालक अनुमति पत्र नलिई कसैले पनि सवारी नचलाउन अनुरोध गरे ।