NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

समाजसेवीका नाममा व्यवसायी र विदेशी व्यापारीलाई विभूषण दिलाउन प्रधानमन्त्री सचिवालयको दबाब

काठमाडौं । आगामी संविधान दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्नका लागि प्रधानमन्त्रीको सचिवालयको चासोमा २० जना समाजसेवी सिफारिस भएका छन् । उनीहरूलाई विभूषण दिलाउनका लागि सचिवालयबाट विशेष जोड गरिएको सचिवालय स्रोतले बतायो ।

प्रम सचिवालयबाट विभूषणका लागि विशेष सिफारिसमा पर्नेमा पर्यटन व्यवसायीदेखि विदेशी व्यापारीसम्म छन् । ललितपुरका पर्यटन व्यवसायी सुमन पाण्डे, व्यवसायी दीपेन्द्रकुमार कलवार, जाइका जापानका प्रसन्न अर्याल सिफारिस भएका छन् ।

त्यस्तै, सचिवालयको मुख्य चासोमा पर्नेमा सत्य निरूपण तथा मेलमिलाप आयोगकी पूर्व सदस्य डा. माधवी भट्ट पराजुली पनि छिन् । उनले कोरोना महामारीमा कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिमा पनि सदस्य रहेर काम गरेकी थिइन् ।

प्रम सचिवालयको जोडबलमा कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवासमेत सञ्चालक रहेको यूलियन्स स्कुलका संस्थापक गाइ यूलियन्स पनि सिफारिसमा परेका छन् । अमेरिकामा जन्मिएका उनी फिलान्थ्रोपिस्टसँगै पूर्व व्यापारी पनि हुन् । विभूषणका लागि प्रधानमन्त्री सचिवालयको विशेष चासोमा पर्नेमा नेपाल यूथ फाउण्डेसनकी अध्यक्ष ओल्गा मरे पनि छिन् । मरे कानून व्यवसायी हुन् । उनले अमेरिकी गैर सरकारी संस्था नेपाल यूथ फाउण्डेसनको सञ्चालन गर्दै आएकी छिन् ।

त्यस्तै, ललितपुरकी सजनी आमात्य, बलराम गौतम, प्रभु एयरका विनोद थकाली, नेपाल एयरलाइन्सका सान्तोना तुलाचन पनि सिफारिसमा परेका छन् । कैलालीबाट डा। हेमराज पन्त, दीपेन्द्र भट्ट, नारायण प्रसाद सत्याल सिफारिस भएका छन् भने डडेल्धुराबाट तेज बहादुर ऐर, पदमराज जोशी, भानुदेव जोशी र डोटीबाट भक्तबहादुर मल्ल सिफारिसमा परेका छन् ।

दोलखाका रघुनाथ दास, ललितपुरका हेटमान महर्जन विभूषणका लागि सिफारिस भएका छन् । सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनेहरूलाई सम्मानस्वरूप विभूषण दिँदै आएको छ । यसअघि २०६७ सालदेखि गणतन्त्र दिवसमा विभूषण प्रदान हुन्थ्यो भने २०७५ देखि संविधान दिवसको अवसरमा विभूषण दिन थालिएको हो ।

हरेक वर्षको असार मसान्तभित्र विभूषण समितिमा विभिन्न निकायहरूबाट व्यक्तिको नाम सिफारिस गरिन्छ । समितिमा प्राप्त सिफारिसलाई मन्त्रिपरिषद् पठाइन्छ । मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिद्वारा विभूषण प्रदान गरिन्छ ।

प्रधानमन्त्रीका प्रेस संयोजकलाई छुटाउन नमिल्ने भन्दै सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको नाम पनि प्रबल जनसेवा श्री चतुर्थ विभूषणको लागि प्रधानमन्त्री कार्यालयको सचिवालयबाट छुटाउन नमिल्ने भन्दै सिफारिस भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष