NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जना संक्रमित

बैतडी । जिल्ला कारागारभित्र कोरोना संक्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण देखिएपछि गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । पिसिआरमार्फत चार र एन्टिजेनमार्फत १२ जना गरी १६ जनामा कोरोना देखिएको हो । कारागार प्रमुख भण्डारीले भने, ‘कोरोनाजस्तै लक्षण देखिएका चार कैदीबन्दीको बुधबार पिसिआर परीक्षण गरेका थियौँ ।

उनीहरूमा संक्रमण पुष्टि भएपछि अन्य ८९ जनामा पनि एन्टिजेन परीक्षण गर्दा बिहीबार थप १२ जनामा संक्रमण देखापरेको छ ।’ संक्रमित कैदीबन्दीलाई कारागारभित्र छुट्टै राख्न समस्या भएको छ । क्षमताभन्दा चारगुणा बढी कैदी हुँदा उनीहरूलाई अलग्गै आइसोलेशनमा राख्न नसकिएको उल्लेख गर्दै उनले भने, ‘२५ कैदी अटाउने क्षमता भएको कारागारमा ९३ जना थिए, उनीहरूकै व्यवस्थापन गर्न निकै समस्या रहेका बेला कोरोना फैलिएपछि झनै समस्या भएको छ ।’

कारागारभित्र कोरोना संक्रमण फैलिएपछि कैदीलाई भेटघाट गर्ने कार्यमा रोक लगाइएको छ । संक्रमणको थप जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्य बन्द गरिएको हो । क्षमताभन्दा झण्डै चारगुणा कैदी हुँदा ठाउँ अभावले बसाइँ व्यवस्थापनमा निकै असहज भएको कारागार कार्यालयले जनाएको छ । वि.स २०४० मा निर्माण भएको कारागार मर्मत र पुनःनिर्माण नहुँदा जीर्ण बनेको छ ।