स्याङ्जाकाे ३ हजार ४०० घरमा धारा जडान
वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो ।
गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन हजार चारसय घरधुरीमा एक घर एक धारा जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।
गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले बताए । यस पालिकालाई तीनतिरबाट कालीगण्डकी नदीले घेरेर गएकाले पानीका मुहान नदी किनारमा धेरै छन् । नदीभन्दा माथिल्लो भूभाग वा पहाडको उच्च भागमा बस्ती रहेकाले पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो ।
‘बद्लिदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्यांकी निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पुर्याउन सकिएको छ’ उनले भने, ‘जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ ।’
पशुपालन कृषि कार्य सरसफाइलगायतका काममा पानीको अभाव झेलेका स्थानीयको जीवनयापन कष्टकर बनेको थियो । गाउँपालिकाले हालसम्म खानेपानीका क्षेत्रमा १५ करोड ४९ लाख बजेट विनियोजन गरी खर्च गरेको उनले बताए । घरघरमै धारा जडान भई पानी आएसँगै स्थानीय बासिन्दा हर्षित छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया