NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

तोकिएको समयसम्म अस्पतालमा नबस्ने स्वास्थ्यकर्मीलाई कारबाही हुन्छः स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री भवानी प्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोसी अस्पतालमा पाँच करोड ४७ लाख सात हजार रुपैयाँको लागतमा नवनिर्मित ३६ शैयाको बच्चा वार्ड, दुई शल्यक्रिया कक्षसहित ४० शैयाको वार्डको उद्घाटन गर्दै मन्त्री खापुङले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्नेमा जोड दिए ।

उनले कोसीसहित मुलुकका सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावलाई समाधान गर्ने सम्बन्धमा मन्त्रालयमा छलफल गरी दरबन्दी सिर्जना गरेर पदपूर्तिको व्यवस्था गर्ने जानकारी दिए । साथै उनले निजी अस्पतालले स्वास्थ्य बीमा बन्द गर्नाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उल्लेख गर्दै यो समस्या चाँडै समाधान हुने धारणा राखे ।

उनले बजेट भाषणमा सरकारी तथा सामुदायिक अस्पतालमा मात्र स्वास्थ्य बीमा लागू हुँदै आएकाले यसले अन्याैलता सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई आम जनतासमक्ष व्यवस्थित रुपमा पु¥याउन एउटा कार्यदल निर्माण गरिएको बताए । मन्त्री खापुङले स्वास्थ्य बीमा सम्बन्धमा छुट्टै ऐन रहेको जनाउँदै मोरङबाहेक अन्य क्षेत्रमा निजी अस्पतालले बीमा लागू गरेको र यस क्षेत्रमा निजी अस्पताले बीमा लागू गर्ने सम्बन्धमा कुराकानी अगाडि बढेकाले चाँडै समाधान हुने बताए ।

उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको बीमा रकमको दाबी सम्बन्धमा कार्य गरिरहेकाले चाँडै बीमा रकम भुक्तानी गर्ने जानकारी गराए ।