NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाली दूतावासमा ‘घुस बार्गेनिङ’ काण्ड, अधिकृत मन्त्रालय तानिए

काठमाडौं । गोल्ड मेडलिस्ट उपसचिवको घुस काण्ड सेलाउन नपाउँदै अधिकृत जोडिएको अर्को यस्तै प्रकरण पटाक्षेप भएको छ । सात समुन्द्रपारिबाट नेपालमा फोन सम्पर्क गरेर घुस बार्गेनिङ गरेपछि दूतावासका ती अधिकृत स्वदेश तानिएका छन् ।

अस्ट्रियास्थित नेपाली दूतावासमा सेकेण्ड सेक्रेटरीका रूपमा कार्यरत शाखा अधिकृत धनञ्जय मेहता सेवाग्राहीसँग घुस बार्गेनिङको अडियो सार्वजनिकपछि त्यहाँबाट हटाइएका हुन् ।

स्रोतका अनुसार, मेहताले म्यानपावर व्यवसायीसँग अनधिकृत ढंगले रकम माग गरेको अडियो प्रमाण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेको छ । जसमा उनले क्रोएसिया, अल्बानिया र पोल्याण्डसँग सरकारले गरेको श्रम सम्झौताविपरीत ५०० वटा कोटा प्रमाणीकरण निम्ति म्यानपावर व्यवसायीसँग रकम माग गरेका छन् । रकम माग गर्ने व्यक्ति म्यानपावर व्यवसायी टंक राउत भएको बताइएको छ ।

स्रोतका अनुसार, लिग भएकाे अडियाेकाे अाधिकारिकता पुष्टि भएसँगै उनलाई भदौ १९ भित्र अस्ट्रिया छाड्न निर्देशन दिइएको छ ।

‘मेहताले पदीय मर्यादाविपरीत कार्य गरेको पुष्टि भएपछि उनलाई त्यहाँबाट फिर्ता बोलाइएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

छानबिनकाे निष्कर्ष– मेहताको नियत खराब

मेहतामाथि लागेको आरोप प्रमाणित हुनेगरी अडियो प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले यसमाथि छानबिन अगाडि बढाएको थियो । सहसचिव सेवा लम्साल, उपसचिव पुस्करराज नेपाल र शाखा अधिकृत दधि भण्डारी सम्मिलित तीन सदस्यीय छानबिन टोली गठन गरेर परराष्ट्रले यो प्रकरणमा अनुसन्धान गरेको हो । छानबिन टोलीले मेहताको नियत खराब रहेको निचोड निकालेको छ । मेहता स्वयंले पनि रकम माग गरेकाे तर नलिएकाे बताउने गरेका छन् ।

समितिले उनको कार्यशैली गलत भएको निष्कर्ष निकालेसँगै उनलाई स्वदेश तानिएको छ ।