NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एक वर्षमा हामी सफल भएका छौं, ओलीको बाटोमा लागेकाहरूको भविष्य छैन : डा. भुसाल [अन्तर्वार्ता]

काठमाडौं । सत्तारूढ घटक एकीकृत समाजवादीले पार्टी स्थापना दिवसलाई पुनर्गठनको रूपमा मनाउँदै छ । एक वर्षअघि आजैको दिन नेकपा एसले निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो । एसकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट बालकोट पठाउन बाध्य पारिएको थियो । यद्यपि उसले संविधान, लोकतन्त्र, व्यवस्था र कम्युनिष्ट आन्दोलन बचाउनका लागि गरिएको विद्रोह भएको दाबी गरेको छ ।

उसकै भाषामा पार्टी पुनर्गठन भनिएको एक वर्षमा सरकारमा दुई खेप मन्त्री पठाउने, दुई प्रदेशको नेतृत्व लिनेबाहेक जनपक्षीय काम गर्न नसकेको आरोप लागेको छ । स्थानीय तहमा अपेक्षाकृत मत नआएकोमा निराश देखिएको उसले गठबन्धनको सहयोगमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिँदैछ । यसै विषयमा केन्द्रित रहेर नेपालवाचकर्मी गणेश पाण्डेले नेकपा एसका महासचिव डा. वेदुराम भुसालसँग कुराकानी गरेका छन् ।

यसै विषयमा केन्द्रित रहेर नेपालवाचकर्मी गणेश पाण्डेले नेकपा एसका महासचिव डा. वेदुराम भुसालसँग कुराकानी गरेका छन् ।
पार्टी पुनर्गठनको एक वर्षलाई तपाईंले कसरी समीक्षा गर्नुहुन्छ ?

जुन उद्देश्य राखेर हामीले पार्टी पुनर्गठनको अभियान चलाएका थियौं, त्यसमा सफल भएका छौं । एमालेसँग हाम्रो विद्रोहका कारण संविधान र व्यवस्था जोगिएको छ । यीबाहेक पुनर्गठनको एक वर्षमा ७७ जिल्लामा संगठन निर्माण भएको छ । पालिका तहमा पनि ७५ प्रतिशत र वडामा ५५ प्रतिशत संगठन निर्माण भएको छ । जनसंगठन पनि पालिका तहसम्म जोडिएका छन् ।

एकवर्षसम्म हामीले पुनर्गठनको विषयमा पहल गर्यौं । एकप्रकारको संरचना तयार भएको छ । अहिले हामीले वैचारिक अभियान सुरु गरेका छौं । छिट्टै एकताको अभियान सुरु गर्छौं ।

यो बीचमा हामीले स्थानीय तह निर्वाचनमा भाग लिएका छौं । पार्टीले बामे सर्दै गरेको अवस्थामा हामीले जुन मत पाएका छौं, त्यो उल्लेख्य मत हो । स्थानीय तह निर्वाचनपछि हामीले सबै केन्द्रीय बैठक सम्पन्न गरेका छौं । आगामी निर्वाचनका लागि विशेष अभियान चलाएका छौं । यी सबै हिसाबले हामीले राम्रै सफलता प्राप्त गरेका छौं ।

तपाईंहरूको विद्रोह ओलीलाई बालुवाटारबाट बालकोट पठाउने र हराउनेमा मात्र सीमित भयो भन्ने आरोप छ नि ?

पहिलो कुरा एमाले विरूद्धको हाम्रो लडाईं होइन । नीति, सिद्धान्त र कार्यदिशामा एमाले गलत बाटोमा गयो । राष्ट्रघाती काम गर्यो । लोकतन्त्र र संविधान विपरीतका काम भए । कम्युनिष्ट आन्दोलनलाई पनि धराशायी बनाउने काम भए । त्यसैले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाको पक्षमा हामी उभिएको हो । व्यवस्था रक्षाका लागि अभियानकै रुपमा पुनर्गठन अभियान चलाएको हो । हाम्रो उद्देश्य नबुझ्नेहरूले विभिन्न आरोप लगाउँछन् । तर हाम्रो अभियान सफल भएको छ ।

दोस्रो कुरा स्थानीय तह निर्वाचनमा हामीले जुन मत पाएका छौं त्यो राम्रै मत हो । पुनर्गठनको छोटो समयमा निर्वाचनमा होमिंदासमेत त्यति मत पाउनु नराम्रो भन्न मिल्दैन । आगामी निर्वाचनमा पनि सफलतापूर्वक अगाडि बढ्छौं । स्थानीय तह निर्वाचनमा भन्दा राम्रो सफलता पाउँछौं ।

गठबन्धन दलभित्र सिट बाँडफाँट कार्यदलमा तपाईं पनि हुनुहुन्छ के छ अवस्था ?

अहिलेसम्मको स्थितिमा छलफल राम्रैसँग अगाडि बढेको छ । गठबन्धन भएरै जाने स्थिति बनेको छ । यद्यपि सिट बाँडफाँटको विषयमा कुरा मिलेको छैन । सहमतिको प्रयास जारी छ । छिट्टै टुंगिएला भन्ने हाम्रो विश्वास छ ।

आगामी निर्वाचनमा तपाईंको पार्टीले कति सिट जित्ने अनुमान गरेको छ ?

राजनीति गणितमा सीमित हुँदैन । कति आउँछ ? कति दिनमा आउँछ भन्ने हुँदैन । सम्भावनाका कुरा हुन् । गठबन्धन राम्रोसँग जाने हो भने धेरै राम्रो हुन्छ । सबै ठाउँमा गठबन्धन हुन सकेन भने त्यसले असर गर्छ । नत्र भने आत्तिनुपर्ने अवस्था छैन । आगामी निर्वाचनमा हाम्रो अवस्था राम्रै हुनेमा आकलन गरेका छौं ।

निर्वाचनपछि माओवादीसँग पार्टी एकता गर्ने निर्णय गर्नुभएको छ, माओवादीसँग पार्टी एकता गर्न कत्तिको सहज वा जटिल देख्नुहुन्छ ?

हामीले एमालेसँग विद्रोह गर्दाखेरी नै पार्टी पुनर्गठन गर्ने, सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध बनाएर जाने लक्ष्य नै राखेका थियौं । एकवर्षसम्म हामीले पुनर्गठनको विषयमा पहल गर्यौं । एकप्रकारको संरचना तयार भएको छ । अहिले हामीले वैचारिक अभियान सुरु गरेका छौं । छिट्टै एकताको अभियान सुरु गर्छौं ।

एमाले कुहिराको काग भएको छ । आफैंमा विवादग्रस्त र समस्याग्रस्त छ । उ कमजोर बन्दै गएको छ । त्यहाँभित्र ओली र ओलीपक्षीय साथीहरूको विचार नै गलत छ ।

एकताका लागि हामीले पार्टीमा निर्णय पनि गरिसक्यौं । एकताको विषयमा माओवादीसँग एक–दुई चरण कुराकानी भएको छ । अब एकताको प्रक्रिया अगाडि बढ्छ । यसको मतलब चुनावलगत्तै पार्टी एकता भइहाल्छ भन्ने होइन । पार्टी एकताका लागि धेरै काम गर्न बाँकी छ । सबै प्रक्रिया पूरा गरेपछि पार्टी एकता गर्छौं । पहिलाको जस्तो एकता भएर विग्रह नहोस् भन्नेमा हामी सचेत छौं । राम्रो तयारी गरेर अगाडि बढ्छौं । यो खाली माओवादीसँगमात्र एकता होइन, सम्पूर्ण वामपन्थी शक्तिलाई गोलबन्द बनाउने उद्देश्य हो । वामपन्थीहरू एकताबद्ध भएर कम्युनिष्ट आन्दोलन बचाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा देखिएका विचलनलाई रुपान्तरण गर्दै जानुपर्छ । त्यसो भएमात्र पार्टी एकता बलियो हुन्छ ।

अन्त्यमा, आगामी निर्वाचनपछि एमालेको भविष्य कस्तो देख्नुहुन्छ ?

एमाले गलत बाटोमा हिंडेको छ । गलत बाटोमा हिँडिसकेपछि उसको भविष्य अन्धकारमय छ । गलत बाटोमा हिँडेको पार्टी सही गन्तव्यमा पुग्न सक्दैन । महाधिवेशनबाटै उसले समाजवादमा जानेबेला भएको छैन भनेर निष्कर्ष निकालेको छ । त्यो आफैंमा कमजोर निष्कर्ष हो । आजको समाज जुन अवस्थामा छ, त्यसलाई अगाडि बढाउनका लागि हो ।

जुन कम्युनिष्ट पार्टीले समाजलाई अगाडि बढाउने कुरा गर्दैन, त्यो पार्टी सकिन्छ । समाजवाद उन्मुख हुन कम्युनिष्ट पार्टी चाहिने हो । एमाले कुहिराको काग भएको छ । आफैंमा विवादग्रस्त र समस्याग्रस्त छ । उ कमजोर बन्दै गएको छ । त्यहाँभित्र ओली र ओलीपक्षीय साथीहरूको विचार नै गलत छ । मूल समस्या भनेको उनीहरूको विचार नै ठीक छैन । समाजवादतर्फ नजानेहरू सकिन्छन् । ओली र ओलीको बाटोमा लागेकाहरूको भविष्य छैन ।