NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

पुस्तक पढ्ने लोभमा कार्यालय सहयोगी बनेर काम गरेँ : बुद्धि तामाङ

काठमाडौं । अभिनेता बुद्धि तामाङले पुस्तक पढ्नकै लागि आफूले डबली नाट्य समूहमा कार्यालय सहयोगीको काम गरेको बताएका छन् । दुई–तीन वर्षको यो अवधिमा करिब एक हजार पुस्तक पढेको उनको भनाइ छ ।

उनले नयाँ पत्रिका दैनिकसँगको पुस्तक वार्तामा आफ्नो रोचक अनुभूति बाँडेका छन् :–

मैले ०६३ सालमा डबली नाट्य समूहमा काम गर्न थालेपछि विभिन्न पुस्तक पढ्ने अवसर पाएँ । डबलीमा पुस्तकालय देखेपछि मैले सञ्चालक पुष्कर गुरुङसँग बिन्तिी बिसाएँ– म अफिसमै बस्छु, सफा गर्ने, चिया पकाउनेलगायत यहाँको सबै काम गर्छु । मलाई यहाँ बस्ने व्यवस्था गर्दिनु । मैले गरेको यो अनुरोधको एउटै स्वार्थ थियो–पुस्तकालयमा भएका सबै किताब पढ्छु भन्ने । मलाई त्यो बेलामा थाहा थिएन, पुस्तकालयका पुस्तकहरू घरमा लगेर पनि पढ्न मिल्छ भनेर । अहिले सोच्दा पनि कति सोझो रहेछु भन्ने लाग्छ । सायद पालैपालो पुस्तक लगेर पढ्छु भनेको भए पनि पुस्कर सरले नाइँ भन्नुहुने थिएन होला ।

म डबलीमा जानुको मुख्य कारण त्यहाँको पुस्तकालय नै थियो । त्यहाँ भएका किताब पढे केही न केही त बुझिन्छ भनेर यात्रा सुरु गरेको थिएँ । म रंगमञ्चमा अडिनुको कारण पनि पुस्तक नै हो । मैले प्रायः नाटकका पुस्तक पढे । अंग्रेजी नजान्ने म नेपाली किताब छानीछानी पढ्थेँ । दुई–तीन वर्षको अवधिमा मैले करिब एक हजार पुस्तक पढेँ हुँला ।

पुस्तक पढ्ने कुनै निश्चित समय त छैन । तर फुर्सदमा पढिहाल्छु ।

ताजा अपडेट

नेपालवाच विशेष