NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

९ वर्षअघि बनेको तर ९ सेकेण्डमै ध्वस्त पारिएको नोएडाको ट्विन टावरको कथा

एजेन्सी । भारतस्थित नोएडामा ९ वर्षअघि ठडिएको ट्विन टावर ९ सेकेण्डमै भग्नावशेष परिणत भयो । दिल्ली नजिकै रहेको नोएडा सेक्टर ९३ ए मा अवस्थित दुई भवनलाई एपेक्स(३२ तल्ला) र सिएन(२९तल्ला) नाम दिइएको थियो । दुवै भवनको नौसय भन्दा बढी फ्ल्याटमा १५ सय मानिसहरू बसोबास गर्दै आएका थिए । भवन ७.५ लाख स्क्वायर फिटसम्म फैलिएको थियो ।

आइतबार करिब ३७०० किलोग्राम बारूदको प्रयोगमा उक्त ट्विन टावरलाई ध्वस्त पार्न २० करोड रूपैयाँ खर्च भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २००४ मा सुपरटेक लिमिटेडले उक्त भवन निर्माणका लागि अनुमति पाएको थियो । तर, पटकपटक आफ्नो उद्देश्य परिमार्जन गरेर सुपरटेकले मापदण्डविपरीत भवन निर्माण थालेको थियो ।

त्यहाँ बस्ने बासिन्दा र खरिदकर्ताको अनुमतिबिना त्यसरी पूर्वनिर्धारित योजनाविपरीत भवन निर्माण गर्न नपाइने कानून छ । तर, मापदण्डविपरीत भवन निर्माणको काम नरोकेपछि दी रेसिडेन्ट वेलफेयर एसोसिएसनले कम्पनीविरूद्ध मुद्दा दायर गरेको थियो ।

दी रेसिडेन्ट वेलफेयर एसोसिएसनका अनुसार उक्त ट्विन टावर अग्नि नियन्त्रण र खुला ठाउँको सुरक्षा मापदण्डविपरित बनाइएको थियो ।
त्यहाँको घरजग्गासम्बन्धी नियमावली अनुसार छेउछाउका दुई भवनहरूबीचको दूरी १६ मिटर हुनुपर्छ ।

त्यस्तै, कुनै भवनको उचाई १८ मिटर छ भने त्योसँगैको अर्को संरचनासँग उक्त भवन १६ मिटर टाढा हुनुपर्छ । तर, सुपरटेकले निर्माण गरेका ट्विन टावर यो मापदण्डविपरित थिए । ती भवनको सन्दर्भमा यो दूरी जम्मा ९ मिटरमात्रै कायम थियो । यो अग्नि नियन्त्रण मापदण्डविपरीत थियो ।

सन् २०१२ मा दी रेसिडेन्ट वेलफेयर एसोसिसनले इलााहावाद हाइ कोर्टमा उक्त निर्माण मापदण्डविपरीत भएको भन्दै रिट दायर गरेको थियो ।
इलाहवाद हाइकोर्टले सन् २०१४ मा सुपरटेकलाई चार महिनाभित्र आफ्नै खर्चमा ट्विन टावर भत्काउन निर्देशन दिएको थियो । योसँगै त्यहाँ फ्लाट खरिद गर्नेलाई १४ प्रतिशत ब्याजदरसहित रकम फिर्ता गर्ने आदेश पनि जारी गरेको थियो ।

तर, यो आदेशलाई रोक्न सुपरटेक सर्वोच्च अदालत पुग्यो । सवोच्चले भवन तत्कालका नभत्काउनका लागि स्टे अर्डर दिएपनि खरिदकर्तालाई पैसा भने सोही अनुसार फिर्ता गर्न आदेश दिएको थियो ।

सुपरटेकले अदालतको आदेशअनुसार पैसा फिर्ता नगरेपछि अधिकांश खरिदकर्ताले त्यसविरूद्ध रिट दायर गरे । व्यक्तिगत रूपमा खरिदकर्ताहरूले रिट दायर गरेपछि सर्वोच्चले एमिकस क्युरी नै गठन गरेको थियो ।

सन् २०१४ मा उक्त भवन निर्माण पुनः सुरु भयो । सन् २०१८ मा आएर सर्वोच्चले दुईवटा विकल्प दिएको थियो । कूल रकमको १४ प्रतिशत ब्याजदरसहित आयोजनाबाट बाहिरिने या १० प्रतिशत लगानीमा प्रतिफल प्राप्त गर्ने । अदालतले सुपरटेकलाई यसमा आवश्यक काम गर्न निर्देशन दियो । तर, सुपरटेकले अदालती आदेश पूरा गरेन ।

गत वर्ष सर्वोच्चले उक्त भवन निर्माणलाई मापदण्डविपरीत र अवैध करार गर्दै भवन भत्काउन आदेश जारी ग¥यो । योसँगै खरिदकर्तालाई १२ प्रतिशत ब्याजदरसहित रकम फिर्ता गर्न पनि आदेश दिएको थियो ।

यसबीचमा २०२१ डिसेम्बरमा सुपरटेकले आफू टाट पल्टिएको भन्दै अदालतको आदेशअनुसार घर खरिदकर्तालाई पैसा दिन असमर्थ भएको जवाफ दिएको छ ।

संरचना बनेको ९ वर्षपछि ९ सेकेण्डमै उक्त भवन भग्नावेशमा परिणत भयो । भारतमा यसरी हालसम्म भत्काइएकोमध्ये यो सबैभन्दा ठूलो र अग्लो भवन हो ।

विज्ञहरूले विस्फोटबाट कैयौं दिनसम्म हावामा रहन सक्ने धुलो धुवाँबारे चिन्ता व्यक्त गरेका छन् । जसले त्यहाँ वरपरका मानिसहरूको स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । नोएडाको आधिकारिक निकायले धूलो नियन्त्रणका लागि पानीका ट्यांकर, मेकानिकल स्विपिङ मेसिन उपलब्ध गराइ सफाइका कर्मचारी खटाउने आश्वासन दिएको थियो ।

सुरक्षाका लागि ट्विन टावर अवस्थित स्थलमा पाँच सय भन्दा बढी प्रहरी तैनाथ थिए ।