NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महेश बस्नेतलाई शान्ता चौधरीको काउन्टर– कामनपाको जस्तो अभियान देशभरि चलाउनुपर्छ

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले काठमाडौं महानगरपालिकाले अघि बढाएको अनधिकृत संरचना हटाउने अभियानको प्रशंसा गरेकी छन् । साथै उनले यस्ता काम देशव्यापी सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएकी छन् ।

कामनपाका मेयर बालेनको अगुवाइमा सञ्चालन गरिएकाे अनधिकृत संरचना हटाउने अभियानको उनकै दलका नेता महेश बस्नेतलगायतले कडा आलोचना गरिरहेका बेला चौधरी भने पक्षमा खुलेकी हुन् ।

महानगरपालिकाले अल्फाबिटाको अवैध संरचना डोजर लगाएर भत्काएसँगै बस्नेत मेयर बालेन शाहसँग क्रुद्ध बनेका छन् । उनले त्यसको प्रतिरोध गर्ने धम्कीसमेत दिइरहेका छन् । तर चौधरी त्यसको ठीकविपरीत नक्साविपरीतको संरचना हटाउने महानगरपालिकाको अभियानको पक्षमा खडा भएकी छन् । उनले महानगरपालिकाले थालेको कार्य राम्रो भएकाले सहयोग गर्न सबैसमक्ष अपिल समेत गरेकी छन् ।

‘बालेन्द्र शाह र सुनिता डंगोलको टिमले चलाएको काठमाडौंमा नक्साविपरीतका संरचना हटाउने अभियान स्वागतयोग्य छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सार्वजनिक हितका यस्ता काम देशभरि नै चलाउनु पर्दछ । यस्ता कार्यमा सबैको साथ सहयोग होस् ।’