NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

संसदमा अत्यधिक बहुमत हुँदाहुँदै केजरीवालले किन लिँदैछन् विश्वासको मत ?

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विधानसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले सोमबार विधानसभाको विशेष सत्रमा विश्वासको प्रस्ताव पेस गर्दैछन् ।

दिल्लीको विधानसभामा ७० सिट छ । जसमा ६२ सांसद केजरीवालको मात्रै छन् । अहिले दिल्लीको सरकार परिवर्तन गर्ने दुस्साहस गरिरहेको भारतीय जनता पार्टी (भाजपा) का सांसद मात्रै ८ छन् ।

केजरीवालले संसदमा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने तयारीपछि अत्यधिक बहुमत हुँदाहुँदै किन उनले यस्तो कदम उठाए भन्ने जिज्ञासा छ ।

विधानसभामा बोल्दै केजरीवालले भाजपाले सञ्चालन गरेको अपरेसन लोटस दिल्लीमा असफल भएको मतदाताहरूसमक्ष स्पष्ट पार्न विश्वासको मत लिन लागेको बताएका छन् । केजरीवालले यसअघि भाजपाले दिल्लीको आमआदमी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । यो काम फत्ते गर्न भाजपाले ८०० करोड भारु छुट्याएको दाबी उनको छ ।

‘४० विधायकलाई समर्थन फिर्ता लिने बनाउन भाजपाले प्रति विधायक २० करोड रूपैयाँ छुट्याएको छ,’ केजरीवालले भन्ने गरेका छन् ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि आफूलाई भाजपाबाट नयाँ सरकारमा सामेल हुने प्रस्ताव आएको र त्यसो गरे बदलामा सबै मुद्दा फिर्ता गर्ने आश्वासन आएको बताएका छन् ।

दिल्लीको मदिरा नीतिमा चलखेल गरेको आरोपमा सिआइबीले सिसोदियाविरुद्ध एफआईआर दर्ता गरेको छ भने प्रवर्तन निर्देशनालयले सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाएको छ ।

भाजपाले चलखेल गरेको आरोपपछि गत हप्ता केजरीवालले आफ्नो निवासमा दल सम्बद्ध सांसदहरूको बैठक डाकेका थिए । जसमा ६२ विधायकमध्ये ५३ मात्रै सहभागी भएको बताइएको छ ।