NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

राष्ट्रपतिलाई भेट्न शीतलनिवास किन पुगे सभापति देउवासहितका कांग्रेसका पदाधिकारी ?

काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका सवाललाई प्रतिनिधिसभाले बेवास्ता गरेपछि चुनावको मुखैमा भण्डारीको राजीनामा आउँने हो कि भन्ने बजार हल्ला अझै सेलाएको छैन ।

विधेयकमा राष्ट्रपतिले सुझावपछि प्रतिनिधिसभा फिर्ता गरेकी थिइन् । तर सभाले छलफल पनि नगरी पहिलेकै विधेयकलाई भोटिङ गरेर बहुमतले पारित गरेको थियो ।

पारित भएपछि राष्ट्रपतिले राजीनामा दिनेसम्मका विषय आएका थिए । तर उनले तत्काल राजीनामा दिएकी छैनन् । बरु सैनिक अधिकारी, कानुनविद् र दलका नेतासँग संवाद गरिरहेकी छिन् । यसै क्रममा आरजुले कांग्रेस नेतासँग पनि संवाद गरेकी हुन् ।

राष्ट्रपतिलाई भेट्न सभापति देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

राष्ट्रपतिसँगको संवाद र भेटघाटका क्रममा कार्की छुट्दैनन् । किनकी राष्ट्रपतिसँग कार्कीको नजिकको नाता छ । यसैले अप्ठ्यारो अवस्था आउँदै गर्दा देउवाले यस्ता भेटमा कार्कीलाई पनि सँगै लिएर हिँड्ने गरेका छन् । यस अघि पनि तनावको स्थिति आउँदा देउवाले सम्पर्क सूत्रको रुपमा कार्कीलाई संवादमा खटाउने गरेका थिए ।

यो भेटमा पछिल्लो नागरिकता विधेयकको विषयमा छलफल हुने बताइएको छ । तर कांग्रेसका एक पदाधिकारीले भेटको एजेण्डाबारे आफूलाई जानकारी नभएको बताए ।

‘नागरिकता विधेयकमा राष्ट्रपतिको पहिलेदेखि नै चासो थियो । यसैले बोलाएको हुन सक्छ’ ती पदाधिकारीले भने, ‘तर पार्टीमा बैठक गरी यो एजेण्डा लिएर राष्ट्रपतिकोमा जान लागिएको हो भनेर भनिएको छैन ।’

प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन समितिमा पठाएको छ । राष्ट्रपतिबाट देखिने गरी असन्तुष्टि आएपछि समितिमा छलफलका लागि पठाउन सत्तारुढ दल तयार भएका थिए । राजीनामा नदिन र बरु छलफल गरेरै भए पनि विधेयक अगाडि बढाउन तयार रहेको सन्देश दिन कांग्रेसले प्रयास गर्ने बुझिएको छ ।

आइतबार मात्र विधायन समितिमा पठाइएपछि सोमबार प्रधानमन्त्रीसहितका कांग्रेसका नेता राष्ट्रपतिलाई भेटन् जानुलाई अर्थपूर्ण मानिएको छ ।

यही नागरिकता विधेयकलाई देखाउँदै राजीनामा दिने र एमालेको राजनीतिमा भण्डारी फर्कन लागेको हो कि भनेरसमेत चर्चा भएको छ । तर राष्ट्रपतिले राजीनाको सोचमा आफू नरहेको सन्देश बाहिर ल्याएकी छिन् ।

चुनावको मुखमा राष्ट्रपतिले नागरिकता विधेयकलाई देखाउँदा राजीनामा दिए यसको घाटा सत्ता गठबन्धनले बेहोर्नुपर्ने बुझाई उनीहरूको छ । यसैलाई देखाउँदैले भोटको राजनीति गर्न सक्ने भएरै कांग्रेसले यतिखेर राष्ट्रपतिको राजीनामा चाहेको छैन ।