NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राष्ट्रपतिको राजनीतिक सक्रियता : कांग्रेसपछि एमालेका नेताहरूलाई किन बोलाइन् शीतलनिवास ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिनयता राजनीतिक सक्रियता ह्वात्तै बढेको छ । सरकारको पछिल्लो कदमबाट असन्तुष्ट बनेकी भण्डारीले सोमबार कांग्रेका पदाधिकारीसँग नागरिक विधेयकसम्बन्धमा चासाे व्यक्त गरिन् ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत नेताहरू शीतलनिवास पुगेका थिए ।

कांग्रेसका नेताहरूसँगको भेट लगत्तै एमालेका नेताहरूलाई शितल निवास बोलाएको स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीलाई भेट्न एमालेका पदाधिकारी जाने भनिएपनि अध्यक्ष ओली सहभागी भए वा नगएकोबारे ओलीका सचिवालयले कुनै जानकारी दिएका छैनन् ।

दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक सरकारले प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको थियाे । तर विधेयक १५ दिन अड्काएर  भण्डारीले आफ्नो रायसहित संसदमै फिर्ता गरेपछि सरकार र राष्ट्रपतिबीच सम्बन्ध चिसिएको थियो । भण्डारीको कदमप्रति रुष्ट भएका सत्तारुढ दलका सांसदहरूले जस्ताको तस्तै प्रतिनिधिसभाबाट विधेयक पारित गरेका थिए । एमाले र राष्ट्रपति भण्डारीले चासो व्यक्त गरेपछि अहिले नागरिकता सम्बन्धी विधेयकलाई राष्ट्रियसभाको विधायन समितिमा पठाइएको छ ।

यसै विषयलाई लिएर भण्डारीले राजीनामा दिने तयारी गरिरहेको हल्लाबीच भण्डारीले नेपाली सेनाका बाहालवाला र पूर्वउच्च अधिकारी, कानुनबिद लगायतसँग भेटघाट तिब्र बनाएकी थिइन् ।