NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

दिल्ली विधानसभामा रातभर आम आदमी र भाजपाको धर्ना

काठमाडौं (एजेन्सी) । अन्तःशुल्क नीतिमा अनियमितता भएको विषयलाई लिएर राजनीतिक दलबीच मतान्तर बढिरहेका बेला आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले सोमबार राति दिल्ली विधानसभामा धर्ना दिएका छन्।

दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको विरोधमा आम आदमी पार्टीका विधायकहरूले रातभर धर्ना दिँदा उही समयमा भाजपाका विधायक पनि धर्नामा थिए । तर उनीहरूको माग भने फरक थियो, दिल्ली सरकारका मन्त्रीहरू मनीष सिसोदिया र सत्येन्द्र जैनलाई बर्खास्त गर्नुपर्ने ।

आम आदमी पार्टीले दिल्लीका उपराज्यपालमाथि १४ सय करोड घोटाला गरेको आरोप लगाएको छ । उनीमाथि अनुसन्धान पूरा नभएसम्म पदबाट हटाउनुपर्ने उसको माग छ ।

सक्सेनाले खादी ग्रामोद्योग बोर्डका पूर्वअध्यक्षसमेत हुन् । यो जिम्मेवारीमा रहँदाका बखत उनले भ्रष्टाचार गरेको आम आदमी पार्टीको दाबी छ ।

भाजपा विधायकहरूले सोमबार साँझदेखि मनिष सिसोदिया र सत्येन्द्र जैनलाई बर्खास्त गर्न माग गर्दै भगत सिंहको प्रतिमा नजिकै विधानसभा परिसरमा धर्ना दिए ।

यसअघि सोमबार विधानसभाको विशेष सत्रमा मुख्यमन्त्री अरविन्द केजरीवालले विश्वासको प्रस्ताव पेस गरेका थिए । उनले आफ्ना विधायकहरूको इमान्दारिता देखाउन यो प्रस्ताव ल्याएको बताए । सदनमा दिनभर सरकार र प्रतिपक्षबीच झडप भएको थियो ।

भाजपाका विधायकहरूले हजारौं करोडको मदिरा र शिक्षा घोटालामा छलफल गर्न रोकेर आफ्ना विधायकलाई असंवैधानिक ढंगले बाहिर निकालेको आरोप लगाएका छन् ।

दिल्ली विधान सभाको विशेष सत्रको आज तेस्रो दिन हो। अहिलेको अवस्था हेर्दा आज पनि सदनमा हंगामा हुने सम्भावना छ ।