केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयका घरघरमा बिजुली पुगेपछि शिक्षा, सञ्चार र घरायसी कामकाजमा सहजता आएको हो।
विद्युत् विस्तारसँगै स्थानीयवासी इन्टरनेट, टेलिभिजनलगायतका सुविधामा जोडिन थालेका छन्। भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा बिजुली पुगेपछि यसअघि सूचना तथा सञ्चारको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज भएको छ।
स्थानीयवासी बलबहादुर राईका अनुसार विद्युत् सेवाले बालबालिकाको पढाइदेखि घरायसी कामकाज र साना उद्योग सञ्चालनसम्म सहज बनाएको छ। यसअघि बिजुली नहुँदा बालबालिकाको अध्ययन तथा स्थानीय उत्पादनको कुटानीपिसानीमा समस्या हुने गरेको थियो।
वडाध्यक्ष सूर्यप्रसाद नेपालले विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दा सीमित बजेटबाट पनि परिणाममुखी काम गर्न सफल भएको बताए। भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पुर्याउन चुनौती रहे पनि आवश्यकताका आधारमा काम अघि बढाइएको उनको भनाइ छ।
विद्युत् सेवा पुगेपछि स्थानीयवासीले विद्युतीय मिलबाट कुटानीपिसानी गर्न थालेका छन्। यसले परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत गरेको छ। त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन र आयआर्जनका गतिविधिमा समेत सहयोग पुगेको वडाले जनाएको छ।
विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सूचना तथा सञ्चार प्रविधिको पहुँच बढाउन र स्थानीय उद्यम विकास गर्न नयाँ सम्भावना सिर्जना गरेको छ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया