NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सोभियत युगका अन्तिम नेता गोर्बाचोभ रहेनन्

काठमाडौं । पूर्व सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा अन्तिम सास लिए ।

गोर्बाचोभ लामो समयदेखि गम्भीर रोगबाट पीडित थिए । पछिल्ला वर्षहरूमा उनको स्वास्थ्य बिग्रँदै गएको थियो र यही कारण धेरैपटक अस्पताल भर्ना हुनुपरेको थियो।

यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मिर्गौलाको समस्याले गोर्बाचोभ अस्पताल भर्ना भएको दाबी गरेका थिए । यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ। रुसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा ल्युकेमियाका कारण मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहाननजिकै नोवोडेभिची कब्रिस्तानमा गाडिनेछ । रूसका धेरै महान् नेताहरूको चिहान यही छ ।

उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा थिए ।

गोर्बाचोभले आफ्नो समयमा दुईवटा सुधारहरू गरे जसले सोभियत संघको भविष्य परिवर्तन गर्यो। जसाम अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठन थिए।

खुलापनको नीति अंगीकार गरेपछि सोभियत संघमा जनतालाई सरकारको आलोचना गर्ने अधिकार प्राप्त भयो। यो पहिले कहिल्यै कल्पना नगरेको कुरा थियो।

मिखाइल गोर्बाचोभ सन् १९८५ मा सोभियत संघको राष्ट्रपति निर्वाचित भएका थिए। यसपछि उनले विश्वका लागि देशको ढोका खोलिदिए र ठूलो मात्रामा सुधारहरू गरिदिए ।

यद्यपि, यी सुधारहरू कालान्तरमा सोभियत संघको विघटनको कारक बनिदिन पुग्यो । आफ्ना सबै प्रयासको बावजुद उनले यसलाई जोगाउन सकेनन् र त्यहाँबाट आधुनिक रूस जन्मियो ।

गोर्बाचोभ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए । पछि देशकै सर्वोच्च नेता हुन पुगे ।

त्यतिबेला उनी पोलिटब्युरो भनेर चिनिने सत्तारुढ परिषद्को सबैभन्दा कान्छो सदस्य थिए ।