NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विद्युतीय सवारीलाई यी ३२ स्थानमा बन्दैछन् ५१ वटा चार्जिङ स्टेशन

काठमाडौं । नेपाल विद्युत् पधिकरणले देशभरका विभिन्न ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगबाट करिब ३८ करोड रूपैयाँ लागतमा यी संरचना निर्माण भइरहेका हुन् ।

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहर पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन चार्ज गर्न मिल्ने स्टेसन बनाइरहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो ट्रक, पिकअप तथा कार र २५ वटा साना ठूला कार चार्ज गर्न मिल्नेछ ।
कान्तिपुरका अनुसार, झापाको बिर्तामोड बसपार्कमा २ र दमक चार्जिङ केन्द्रमा थप दुई गरी ४ वटा स्टेसन बनाइनेछ । मोरङको विराटनगर बसपार्क र सुनसरीको इनरुवा बसपार्कमा पनि चार्जिङ स्टेसन राखिनेछ । उदयपुरको बेलका, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्प, इलाका प्रहरी कार्यालय निजगढ र मकवानपुरमा दुई–दुईवटा चार्जिङ स्टेसन राखिनेछ । चितवनको पारस बसपार्कमा दुई र मुग्लिङ पुलमा एउटा चार्जिङ स्टेसन राखिनेछ । सर्लाहीको हरिऔन रिफ्रेस र धादिङको इलाका प्रहरी कार्यालयमा पनि चार्जिङ स्टेसन बनिरहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

चार्ज गर्दा कारहरूमा प्रतिकिमि खर्च औसत ७० पैसा, एसयुभिमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसमा १ रूपैयाँ २० पैसा लाग्नेछ । नेपालमा उपलब्ध सवारीसाधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ ।