NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

साउनमा मात्रै ७६ जनामा डेंगुको संक्रमण पुष्टि

चितवन । चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो संख्यामा डेंगुको संक्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा संक्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । उनले भने, ‘यो वर्ष डेंगुको संक्रमण फैलिने जोखिम उच्च छ ।’ भदौ, असोज र कात्तिक डेंगुका लागि उच्च जोखिमका महिना रहेको उनले बताए ।

डेंगु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । डेंगुको संक्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच/सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने उनले जानकारी दिए ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको बताए । उनले भने, ‘पहिलाको भन्दा अहिले डेंगुका बिरामीको संख्या बढ्दो छ ।’ डा. अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ । डेङ्गु रोगको संक्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उनले बताए । घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगुको संक्रमण देखिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष